सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अनलाइन बिजुलीको बिल तिर्दा अब २.५ प्रतिशत छुट, काउन्टरमा वार्षिक झन्डै ६० करोड खर्च

जलसरोकार
शुक्रबार, असोज २३, २०८३ | १०:०९:५८ बजे

 

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले अनलाइन माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्ने घरेलु उपभोक्तालाई थप छुट दिने भएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको हो। यससँगै अनलाइनबाट विद्युत् महसुल तिर्ने ग्राहकले यसअघि पाइरहेको दुई प्रतिशत छुटमा थप शून्य दशमलव पाँच प्रतिशत सुविधा पाउनेछन्। अब डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्दा कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त हुनेछ।

विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पहिलो चरणमा छ महिनाका लागि लागू गरिएको यस कार्यक्रमले उपभोक्तालाई डिजिटल माध्यमबाट महसुल तिर्न थप प्रोत्साहित गर्नेछ। अनलाइन भुक्तानी गर्दा समयको बचत हुनुका साथै थप आर्थिक सुविधासमेत प्राप्त हुने भएकाले प्राधिकरणले ग्राहकलाई डिजिटल माध्यम अपनाउन आग्रह गरेको छ।

विद्युत् महसुल भुक्तानीलाई सहज बनाउने उद्देश्यसहित प्राधिकरणले ल्याएको यो सुविधासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि डिजिटल माध्यमबाट महसुल तिर्न नागरिकलाई अपिल गरेका छन् । उनले अहिले पनि ७३ प्रतिशत नागरिक विद्युत् महसुल तिर्न भौतिक रूपमा काउन्टरमै पुग्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यो अवस्था परिवर्तन गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

मन्त्री श्रेष्ठका अनुसार डिजिटल भुक्तानीले नागरिकको समय र आवतजावतमा हुने खर्च बचत गर्छ। नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्ने तथा महसुल सङ्कलन काउन्टर सञ्चालनमा खर्च हुने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा उपयोग गर्न सकिने उनकाे भनाइ छ।

विद्युत् महसुल सङ्कलनका लागि सञ्चालनमा रहेका काउन्टरमै प्राधिकरणले वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च गर्दै आएको छ। प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा ६५५ वटा महसुल सङ्कलन काउन्टर सञ्चालनमा छन्। ती काउन्टर सञ्चालनमा मात्रै मासिक करिब पाँच करोड रुपैयाँ खर्च हुने मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

अहिले ठूलो सङ्ख्यामा नागरिक महसुल तिर्न काउन्टरमै पुग्नुपर्ने अवस्था रहेकाले डिजिटल भुक्तानीको प्रयोग बढाउन सके सार्वजनिक खर्च घटाउन सकिने मन्त्री श्रेष्ठको धारणा छ। काउन्टर सञ्चालनमा लाग्ने खर्च बचत हुनुका साथै त्यहाँ खटिने जनशक्तिलाई अन्य आवश्यक सेवामा परिचालन गर्न सकिने उनले बताएका छन् । 

डिजिटल भुक्तानीको प्रयोग बढाउन मन्त्री श्रेष्ठले परिवारका सदस्य, इष्टमित्र, छरछिमेकी तथा परिचित नागरिकलाई अनलाइनबाट महसुल तिर्ने तरिका सिकाउन र प्रोत्साहित गर्न आग्रह गरेका छन् । विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने बुबाआमा, ज्येष्ठ नागरिक तथा आफन्तलाई एकपटक सिकाइदिन उनले अपिल गरेका छ।

केही मिनेट समय दिएर डिजिटल भुक्तानी गर्न सिकाउँदा ज्येष्ठ नागरिक तथा अन्य उपभोक्ताको हरेक महिनाको समय बचत हुन सक्ने उनकाे भनाइ छ। डिजिटल भुक्तानीलाई केवल प्रविधिको प्रयोग बढाउने अभियानका रूपमा नभई नागरिकको समय बचत गर्ने, सेवा सहज बनाउने, वित्तीय पारदर्शिता बढाउने र सार्वजनिक स्रोतको प्रभावकारी उपयोग गर्ने साझा प्रयासका रूपमा अघि बढाउनुपर्नेमा उनकाे जोड दिएका छन्।

प्रकाशित मिति : शुक्रबार, असोज २३, २०८३ | १०:०९:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया