सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो

जलसरोकार
मंगलबार, साउन १९, २०८३ | ०९:३८:१२ बजे

 

काठमाडौं : एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, ब्याज आम्दानी तथा व्यवसाय विस्तारमा उल्लेखनीय सुधार भएको जनाएको छ।

वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको नाफा ४०.६० प्रतिशतले वृद्धि भएको देखिएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ८ अर्ब २ करोड रुपैयाँ रहेको थियो। त्यस्तै, फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको ४ अर्ब ७३ करोड रुपैयाँ रहेको सञ्चालन नाफा २९.०६ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार विभिन्न कोषमा रकम छुट्याएपछि बैंकको नियामक समायोजनअघिको नाफा २ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ। नियामकीय समायोजन तथा अघिल्लो वर्षको सञ्चित नाफा समायोजनपछि कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश कट्टा गरेपछि साधारण शेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध रहेको बैंकले जनाएको छ। यसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा पुगेको छ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ। बैंकको ग्राहक निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यस्तै, कर्जा प्रवाह २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति पनि विस्तार भई ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित कुल जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्था ९२.५७ प्रतिशत कायम राख्दै जोखिम व्यवस्थापनलाई सुदृढ बनाएको जनाएको छ।

प्रकाशित मिति : मंगलबार, साउन १९, २०८३ | ०९:३८:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया