सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्र बैंक थापाथलीमा पाँच मिनेटमै नयाँ नोट साट्न सकिने

जलसरोकार
शनिबार, असोज २४, २०८३ | १३:२१:३० बजे

 

काठमाडौँ : दसैँका लागि नयाँ नोट साट्न विभिन्न बैंकका शाखा धाइरहेका सेवाग्राहीले सहज रूपमा नोट पाउन नसकेको गुनासो गरेका छन्। सरकारी सूचनाअनुसार जुनसुकै बैंकबाट नयाँ नोट साट्न सकिने भनिए पनि व्यवहारमा भने सेवाग्राहीले शाखापिच्छे फरक समस्या भोग्नुपरेको छ। कतै नयाँ नोट नै नआएको, कतै सीमित रकम मात्रै उपलब्ध भएको त कतै निश्चित मितिमा आउन भन्दै सेवाग्राहीलाई फर्काउने गरिएको छ।

आफ्नो खाता रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नजिकका केही निजी बैंकका शाखामा नयाँ नोट साट्न जाँदा पनि सहज रूपमा सेवा पाउन नसकेको एक सेवाग्राहीले बताए। उनका अनुसार कतिपय शाखामा नयाँ नोट उपलब्ध नभएको जानकारी दिइएको थियो भने केहीमा आएको सीमित नोटसमेत वितरण भइसकेको भन्दै फर्काइएको थियो। अन्य केही शाखाले भने पछि आउन आग्रह गरेका थिए।

दसैँमा टीका लगाउँदा दक्षिणा दिन र चाडपर्वको खर्च व्यवस्थापन गर्न नयाँ नोट साट्ने चलन रहेकाले यस समयमा बैंकमा सेवाग्राहीको चाप बढ्ने गर्छ। तर, नयाँ नोट साट्ने व्यवस्था सबै बैंकबाट उपलब्ध हुने भनिए पनि शाखाहरूमा पर्याप्त नोट नपाउँदा सेवाग्राहीले समय खर्चिनुपरेको छ।

यसैबीच, नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा भने नयाँ नोट साट्ने प्रक्रिया सहज रहेको सेवाग्राहीले बताएका छन्। एक मित्रबाट विशेषगरी ज्येष्ठ नागरिकले समेत लामो लाइनमा नबसी सहज रूपमा नयाँ नोट साट्न सक्ने जानकारी पाएपछि थापाथली पुगेका एक सेवाग्राहीले पाँच मिनेटभित्रै आवश्यक रकम साट्न पाएको अनुभव सुनाए।

अन्य बैंकका शाखामा नयाँ नोट साट्न कठिनाइ भोग्नुपरे पनि राष्ट्र बैंकको थापाथली कार्यालयमा छिटो सेवा पाएको भन्दै उनले त्यहाँको व्यवस्थापनको प्रशंसा गरेका छन्। उनका अनुसार उचित व्यवस्थापन र प्रभावकारी कार्यप्रणाली अपनाउन सके सेवाग्राहीलाई लामो समय पर्खिनुपर्ने अवस्थाबाट मुक्त गर्न सकिन्छ।

नयाँ नोट साट्ने कामलाई सहज बनाएको उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित पक्षलाई धन्यवाद दिएका छन्। साथै, राष्ट्र बैंकमा देखिएको सेवा प्रवाहको अभ्यास अन्य सरकारी तथा गैरसरकारी निकायमा पनि अपनाउन सके सार्वजनिक सेवा थप छिटो, सहज र प्रभावकारी बन्ने उनको भनाइ छ।

दसैँ नजिकिँदै गर्दा नयाँ नोट साट्न चाहने सेवाग्राहीले बैंकका शाखामा सहज पहुँच र पर्याप्त नोटको उपलब्धता अपेक्षा गरेका छन्। एकातिर विभिन्न बैंकमा नोट अभावका कारण सेवाग्राही फर्किनुपरेको गुनासो छ भने अर्कोतिर राष्ट्र बैंकको थापाथली कार्यालयमा छोटो समयमै सेवा पाएको अनुभवले सेवा व्यवस्थापनको प्रभावकारितामाथि ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : शनिबार, असोज २४, २०८३ | १३:२१:३० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया