सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

गत साता सामान्य सुधार गरेको नेप्से, यस साता कुन दिशामा जाला?

जलसरोकार
सोमबार, असार २२, २०८३ | ०९:४७:०८ बजे

 

काठमाडौं : गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। अघिल्लो साता २६४९.५१ विन्दुमा बन्द भएको नेप्से गत साता ३.८९ अंक अर्थात् ०.१५ प्रतिशतले बढेर २६५३.४० विन्दुमा पुगेको हो।

साताभर पाँच कारोबार दिन बजार खुला रहेकामा दुई दिन नेप्से बढेको थियो भने तीन दिन घटेको थियो। यद्यपि, साताको समग्र नतिजाले बजारमा प्राविधिक सुधारको संकेत देखिएको विश्लेषण गरिएको छ।

विश्लेषणअनुसार गत साता नेप्से २६०० विन्दु नजिक पुगेपछि त्यही क्षेत्रमा बलियो टेवा पाएको देखिन्छ। सो स्तरबाट परिसूचक पुनः माथि उक्लनुले तल्लो मूल्यमा खरिदकर्ता सक्रिय हुन थालेको संकेत गरेको छ। साताको अन्तिम कारोबार दिन परिसूचक घटे पनि अघिल्ला दिनको तुलनामा माथिल्लो स्तरमै टिक्न खोज्नु सकारात्मक संकेत मानिएको छ।

प्राविधिक सूचकअनुसार नेप्से अझै २५ दिने, ५० दिने र १०० दिने मुभिङ एभरेजभन्दा तल रहेकाले बजार पूर्ण रूपमा बुलिश भइसकेको अवस्था भने छैन। विश्लेषकहरूका अनुसार बजारले २७२५ विन्दुभन्दा माथि स्पष्ट रूपमा बन्द गरेपछि मात्रै बलियो उकालो प्रवृत्ति पुष्टि हुन सक्छ।

आगामी दिनमा नेप्से बढेमा २८०० देखि २८६० विन्दुको क्षेत्र प्रमुख प्रतिरोध रहने अनुमान गरिएको छ। यस्तै, बजार घटेमा २५५० देखि २६०० विन्दुको क्षेत्र बलियो टेवाका रूपमा रहने विश्लेषण गरिएको छ।

कारोबार परिमाण (भोल्युम) पनि सकारात्मक देखिएको छ। साताको अन्तिम कारोबार दिनको भोल्युम २० दिने औसतभन्दा बढी रहेको थियो। प्राविधिक विश्लेषणमा बजार तल्लो बिन्दुबाट माथि उक्लने क्रममा औसतभन्दा बढी कारोबार हुनु लगानीकर्ताले तल्लो मूल्यमा शेयर संकलन (एकुमुलेशन) गरिरहेको संकेतका रूपमा लिइन्छ।

एमएसिडी (MACD) सूचकमा पनि सुधार देखिएको छ। एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी घट्दै गएको छ भने हिस्टोग्रामको नकारात्मक मान १.९८ मा खुम्चिएको छ। यसले बजारमा बियरिश मोमेन्टम कमजोर बन्दै गएको र निकट भविष्यमा बुलिश क्रसओभर हुन सक्ने सम्भावना देखाएको विश्लेषण गरिएको छ।

त्यसैगरी, स्टोकास्टिक आरएसआई (Stochastic RSI) सूचक पनि ओभरसोल्ड क्षेत्रबाट माथि उक्लिएको छ। यसले बजारमा प्राविधिक सुधार (टेक्निकल बाउन्स) सुरु भएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

यद्यपि, बजारले दीर्घकालीन उकालो यात्रा सुरु गरेको पुष्टि हुन भने अझै महत्वपूर्ण प्रतिरोध क्षेत्र पार गर्नुपर्ने अवस्था रहेको विश्लेषणमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : सोमबार, असार २२, २०८३ | ०९:४७:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया