सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तीन दिनको गिरावटपछि नेप्सेमा झिनो सुधार, कारोबार ४ अर्ब ८९ करोड

जलसरोकार
बिहीबार, असोज १५, २०८३ | १६:५२:३१ बजे

 

काठमाडौं : लगातार तीन कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार झिनो अंकले बढेर बन्द भएको छ। बजारमा सामान्य सुधार देखिए पनि परिसूचक २६०० विन्दुभन्दा तल नै रहेको छ।

यस दिन नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१४ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेको छ।

परिसूचकमा सामान्य सुधार आएसँगै शेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ४ अर्ब ७६ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बिहीबार ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन ३५३ वटा स्टकको ५१ हजार ७४५ पटकको कारोबारमा १ करोड २० लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब साढे ९ प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ। यसको विपरीत, सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक पहिलो स्थानमा रहेको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाले लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार यसको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो। बैंकले असोज १६ गते बुक क्लोज गर्दैछ।

त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र हाथवे इन्भेस्टमेन्ट नेपालको करिब २२ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये चारवटाको परिसूचक बढेको छ भने आठवटाको घटेको छ। बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत् उपसमूहमा सामान्य वृद्धि देखिएको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ भने लगानी उपसमूहको परिसूचक स्थिर रहेको छ।

तीन दिनको निरन्तर गिरावटपछि नेप्सेमा सामान्य सुधार देखिए पनि परिसूचक २६०० विन्दुमा फर्किन सकेन। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

प्रकाशित मिति : बिहीबार, असोज १५, २०८३ | १६:५२:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया