सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बैंकिङ्गको बलमा नेप्से ८.७८ अंक उकालो, कारोबार ४ अर्ब नाघ्यो

जलसरोकार
बिहीबार, असार १८, २०८३ | १५:५५:२० बजे

 

काठमाडाैं : बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि बढेर बन्द भएको छ। बैंकिङ्ग उपसमूहमा देखिएको उत्साहजनक वृद्धिको प्रभावले नेप्से ८.७८ अंकले उकालो लाग्दै २६६१.७१ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक, फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंकले वृद्धि भएका छन्। १३ उपसमूहमध्ये पाँच उपसमूह हरियालीमा रहे भने आठ उपसमूह घटेका छन्। सबैभन्दा बढी बैंकिङ्ग उपसमूह २.०४ प्रतिशतले बढ्दा वित्त, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।

बजारसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३५९ वटा स्टकको ४३ हजार १३१ पटकको कारोबारबाट ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरको ८९ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेका छन्। धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १३.५ प्रतिशतभन्दा बढी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ। विपरीत रूपमा, १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य १०.६० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रह्यो। बैंकको ४१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४० करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

प्रकाशित मिति : बिहीबार, असार १८, २०८३ | १५:५५:२० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया