सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

टेवा क्षेत्रमा नेप्से, टेक्निकल बाउन्सको सम्भावना बलियो

जलसरोकार
सोमबार, असार १५, २०८३ | ०९:३२:३५ बजे

 

काठमाडौं : गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचै कारोबार दिन घट्दै करिब २ प्रतिशतले ओरालो लागेको छ। अघिल्लो साता २७०२.११ विन्दुमा बन्द भएको नेप्से गत साता ५२.६० अंक अर्थात् १.९५ प्रतिशतले घटेर २६४९.५१ विन्दुमा झरेको हो।

यद्यपि, साताको अन्तिम कारोबार दिन बजारले केही सकारात्मक संकेत देखाएको छ। अन्तिम दिन नेप्सेले इन्ट्रा-डे कारोबारमा २६४०.२६ विन्दुसम्म झरेपछि सुधार गर्दै २६४९.५१ विन्दुमा बन्द भएको थियो। यस दिन बनेको सानो शरीर भएको 'स्पिनिङ टप' प्रकृतिको क्यान्डलले बिक्री दबाब कमजोर बन्दै गएको र खरिदकर्ता बजार सम्हाल्ने प्रयासमा रहेको संकेत गरेको प्राविधिक विश्लेषकहरू बताउँछन्।

हाल नेप्से २६४५ देखि २६९० विन्दुको महत्वपूर्ण टेवा (सपोर्ट) क्षेत्रमा रहेको छ। यदि यही क्षेत्रबाट बजारले सुधारको गति समातेमा आगामी दिनमा २८०० देखि २८६० विन्दुको क्षेत्र प्रमुख प्रतिरोध (रेजिस्टेन्स) का रूपमा देखिएको छ।

गत साता कारोबार रकम पनि कमजोर रह्यो। पाँच कारोबार दिनमा दैनिक औसत करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। साताको अन्तिम दिन २० दिने औसत कारोबार रकम करिब ४ अर्ब ५० करोड रुपैयाँ रहेको थियो। बजार महत्वपूर्ण टेवा क्षेत्रमा आइपुग्दा कारोबार रकम घट्नु बिक्री दबाब क्रमशः कम हुँदै गएको संकेतका रूपमा हेरिन्छ।

यद्यपि, बजारको समग्र मोमेन्टम भने अझै कमजोर देखिएको छ। एमएसीडी (MACD) र यसको सिग्नल रेखा दुवै नकारात्मक क्षेत्रमा रहेका छन् भने हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा नै रहेकाले बजारमा अझै बियरिश प्रवृत्ति कायम रहेको संकेत मिल्छ।

तर, स्टोकास्टिक आरएसआई (Stochastic RSI) भने अत्यधिक ओभरसोल्ड क्षेत्रमा पुगेको छ। प्राविधिक विश्लेषणअनुसार यस्तो अवस्थामा बजारमा बिक्रीको दबाब क्रमशः घट्दै जाने र छोटो अवधिमा 'टेक्निकल बाउन्स' अर्थात् प्राविधिक सुधार आउने सम्भावना उच्च रहने मानिन्छ।

यसरी, नेप्से अहिले महत्वपूर्ण टेवा क्षेत्रमा रहेकाले आगामी कारोबारमा उक्त क्षेत्र जोगिन सके बजारले प्राविधिक सुधारतर्फ उन्मुख हुने सम्भावना रहेको देखिएको छ। तर, दीर्घकालीन रूपमा बजारको दिशा निर्धारणका लागि कारोबार रकममा वृद्धि र प्राविधिक सूचकहरूमा स्पष्ट सुधार देखिनु आवश्यक रहनेको छ।

प्रकाशित मिति : सोमबार, असार १५, २०८३ | ०९:३२:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया