अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
जलसरोकार
काठमाडाैं : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। कारोबारको अधिकांश समय नकारात्मक देखिएको बजार अन्तिम समयमा भने हरियालीमा फर्किएको हो।
शुक्रबार नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.११ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले वृद्धि भएको छ।
बजारमा कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ३५३ वटा कम्पनीका १ करोड ९ लाख २२ हजार कित्ता शेयर ६१ हजार १७० पटक किनबेच हुँदा कुल ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन एपोलो हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ११९ रुपैयाँ ४० पैसा बढेर ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयरमूल्य १४ प्रतिशतले बढ्दा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९ प्रतिशतले उकालो लागेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको ‘डिबेञ्चर २०८६/८७’ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ३३ करोड ११ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, ‘ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५’ को कारोबार रकम ३२ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ भने सोपान फर्मास्यूटिकल्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूह घटेका छन्। वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहमा हरियाली देखिएको छ। अन्य उपसमूहहरूमा भने सामान्य गिरावट देखिएको छ।
समग्रमा कारोबार रकम बढे पनि बजारमा लगानीकर्ताको सतर्कता कायमै रहेको देखिएको छ। अन्तिम समयमा आएको खरिद चापले नेप्सेलाई सकारात्मक बन्द गराउन महत्वपूर्ण भूमिका खेलेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने