गत साता करिब २ प्रतिशतले घटेकाे नेप्से, याे साता के होला?
जलसरोकार
काठमाडौं : गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २ प्रतिशतले घटेर २६००.७८ विन्दुमा बन्द भएको छ। अघिल्लो साता २६५३.४० विन्दुमा रहेको नेप्से ५२.६२ अंक अर्थात् १.९८ प्रतिशतले घटेको हो।
साताभर पाँच कारोबार दिन बजार खुलेकोमा एक दिन मात्र वृद्धि भएको थियो भने बाँकी चार कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।
प्राविधिक विश्लेषणअनुसार नेप्से हाल २६०० विन्दुको महत्वपूर्ण मनोवैज्ञानिक टेवा क्षेत्रमा पुगेको छ। साताको अन्तिम कारोबार दिन बजार खुलेपछि ओरालो लागे पनि लगानीकर्ताको खरिद चापका कारण इन्ट्रा–डेमा २६२३ विन्दुसम्म पुगेको थियो। तर कारोबारको अन्त्यमा पुनः २६००.७८ विन्दुमै झरेर बन्द भएको छ। बजार तलबाट फर्किएर सानो बडीसहित बन्द हुनुले २६०० विन्दु जोगाउन लगानीकर्ताले प्रयास गरिरहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
यद्यपि, बजारका प्रमुख प्राविधिक सूचकहरूले भने अझै बियरिश अवस्था कायम रहेको देखाएका छन्। नेप्से १० दिने, २५ दिने, ५० दिने तथा १०० दिने मुभिङ एभरेजभन्दा तल कारोबार भइरहेकाले छोटो, मध्यम तथा दीर्घकालीन प्रवृत्ति कमजोर रहेको संकेत मिलेको छ। हाल १० दिने मुभिङ एभरेज बजारका लागि प्रमुख प्रतिरोधका रूपमा देखिएको छ।
गत साता दैनिक कारोबार मात्रा पनि उल्लेखनीय रूपमा बढेको थियो। अधिकांश कारोबार दिनमा कारोबार भोल्यूम २० दिने औसतभन्दा माथि पुगेको देखिएको छ। विश्लेषकहरूका अनुसार यस्तो अवस्थामा बढेको कारोबारले प्यानिक सेलिङ वा एकुमुलेशनमध्ये कुनै एक अवस्था संकेत गर्न सक्छ। तर कारोबार रकम बढ्नुमा ऋणपत्रको कारोबारको ठूलो योगदान रहेको देखिएको छ। आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा लगानीकर्ताको आकर्षण ऋणपत्रतर्फ बढ्दा कुल कारोबार रकममा वृद्धि भएको बताइएको छ।
मोमेन्टम सूचक एमएसीडी (MACD) पनि नकारात्मक क्षेत्रमा कायम रहेको छ। एमएसीडी र सिग्नल रेखा दुवै शून्य रेखाभन्दा तल रहनुका साथै हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहनुले बजारमा बियरिश मोमेन्टम अझै कायम रहेको संकेत गरेको छ।
त्यस्तै, अघिल्लो सातादेखि देखिएको सम्भावित रिकभरीको प्रयास पनि सफल हुन सकेको छैन। स्टोकास्टिक आरएसआई पुनः ओभरसोल्ड क्षेत्रमा झरेकाले बजारमा बिक्रीचाप बढेको संकेत देखिएको विश्लेषणमा उल्लेख छ।
प्राविधिक सूचकहरूका आधारमा हेर्दा नेप्सेले २६०० विन्दुको टेवा क्षेत्र जोगाउने प्रयास गरिरहेको भए पनि बजारमा अझै स्पष्ट सकारात्मक संकेत देखिन बाँकी रहेको विश्लेषकहरूको निष्कर्ष छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?