गत साता करिब १ प्रतिशतले घटेको नेप्से, यो साता कस्तो रहला ?
जलसरोकार
काठमाडौं : गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब १ प्रतिशतले घटेर बन्द भएको छ। अघिल्लो साता २७२४.०३ विन्दुमा रहेको नेप्से २१.९२ अंक अर्थात् ०.८० प्रतिशतले घटेर २७०२.११ विन्दुमा झरेको हो।
साताभर पाँच कारोबार दिन बजार खुला रहेकामा दुई दिन सामान्य वृद्धि भए पनि तीन दिन गिरावट देखिएको थियो। यसले बजारमा अझै पनि बिक्री दबाब कायम रहेको संकेत गरेको छ।
गत साता कारोबारका क्रममा नेप्से २७०० विन्दुभन्दा तलसम्म झरेको थियो। यद्यपि अन्तिम समयमा खरिदकर्ताको सक्रियताले बजारलाई पुनः २७०० विन्दुभन्दा माथि बन्द गराउन सफल भएको देखिन्छ। यसले उक्त क्षेत्र आसपासमा केही खरिदचाप रहेको देखाए पनि समग्र बजारमा अझै बिक्रेताको मनोविज्ञान बलियो रहेको विश्लेषकहरू बताउँछन्।
प्राविधिक विश्लेषण अनुसार नेप्से हाल बलियो टेवा क्षेत्र नजिक पुगेको छ। बजारको प्रमुख टेवा क्षेत्र २६४५ देखि २६९० विन्दुको बीचमा रहेको छ। यदि आगामी दिनमा बजारमा सुधार देखिएमा नेप्सेले २८०० देखि २८६० विन्दुको क्षेत्रमा प्रतिरोध सामना गर्नुपर्ने अवस्था देखिन्छ।
गत साता कारोबार रकममा पनि कमी आएको छ। दैनिक औसत कारोबार रकम ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित रह्यो। साताको अन्तिम कारोबार दिनसम्म नेप्सेको २० दिने औसत कारोबार रकम ४ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो। बजार महत्वपूर्ण टेवा क्षेत्र नजिक आइपुग्दा पनि कारोबार रकम उल्लेख्य रूपमा नबढेकाले ठूलो स्तरको ‘प्यानिक सेलिङ’ भने नभएको संकेत मिलेको छ।
प्राविधिक सूचकहरू हेर्दा बजारमा अझै कमजोर प्रवृत्ति कायम रहेको देखिन्छ। एमएसिडी (MACD) रेखा र सिग्नल रेखा दुवै नकारात्मक क्षेत्रमा रहेका छन् भने हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा नै छ। यसले बजारमा बियरिश मोमेन्टम कायम रहेको संकेत गर्छ।
यद्यपि स्टकास्टिक आरएसआई सूचकले नेप्सेलाई ‘एक्सट्रिम ओभरसोल्ड’ क्षेत्रमा देखाएको छ। प्राविधिक विश्लेषणमा यस्तो अवस्था बजारको गिरावट सीमित हुँदै गएको र निकट भविष्यमा ‘टेक्निकल बाउन्स’ अर्थात् छोटो अवधिको सुधार आउन सक्ने सम्भावनाको संकेतका रूपमा लिइन्छ।
यस कारण बजार अझै दबाबमा रहे पनि बलियो टेवा क्षेत्र नजिक पुगेकाले आगामी कारोबार दिनहरूमा लगानीकर्ताको व्यवहार र खरिदचापले बजारको दिशा निर्धारण गर्ने देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?