नेप्सेमा भारी गिरावट, १०५ अंकले घटेर २६७६ मा सीमित
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठूलो गिरावट आएको छ। बजार सूचक अघिल्लो कारोबार दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) ले घटेर २६७६ अंकमा कायम भएको छ।
गत बिहीबार भने नेप्से ५.८२ अंकले बढेको थियो। समग्रमा हेर्दा नयाँ सरकार गठन भएपछि शेयर बजारमा लगातार दबाब देखिएको छ। सरकार गठन हुनुअघि नेप्से २९६० अंकसम्म पुगेको थियो भने त्यसयता बजार २८४ अंकले घटिसकेको छ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिँजापति का अनुसार नयाँ सरकार गठनपछि व्यवसायीमाथि धरपकड सुरु भएको विषयले बजारमा मनोवैज्ञानिक त्रास सिर्जना गरेको देखिन्छ। “बजारको ठूलो हिस्सा ठूला व्यवसायीहरूले नै होल्ड गर्छन्। जब धरपकड सुरु हुन्छ, त्यसले लगानीकर्तामा डर पैदा गर्छ,” उनले भने, “तर यति धेरै डराउनुपर्ने अवस्था भने छैन।”
बजार उच्च अंकले घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबारको कारोबारमा ७ कम्पनीको शेयर मूल्य बढ्दा २६१ कम्पनीको मूल्य घटेको छ। उपसूचकतर्फ अधिकांश समूह घटेका छन्। बैंकिङ ३.३२ प्रतिशत, विकास बैंक ४.३२ प्रतिशत, फाइनान्स ३.९४ प्रतिशत, होटल तथा पर्यटन ३.०४ प्रतिशत, हाइड्रोपावर ४.८४ प्रतिशत, लगानी ३.३२ प्रतिशत, जीवन बीमा ३.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३३ प्रतिशत, माइक्रोफाइनान्स ३.४३ प्रतिशत, निर्जीवन बीमा ३.८६ प्रतिशत तथा व्यापार समूह ३.५८ प्रतिशतले घटेका छन्।
यता हालै बजारमा सूचीकृत भएका ६ नयाँ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटेल फोरेस्ट इन रहेका छन्।
त्यसैगरी ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ। ती कम्पनीहरूमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी रहेका छन्। साथै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ९.६२ प्रतिशतले घटेको छ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।
उच्च कारोबार भए पनि बजारमा व्यापक बिक्री दबाब देखिएकाले आइतबार नेप्सेमा उल्लेख्य गिरावट आएको विश्लेषकहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?