सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मौद्रिक नीतिले बजार उत्साहित बनाउन नसक्दा नेप्सेमा तीव्र गिरावट, ३० अंकले घट्यो सूचक

जलसरोकार
बुधबार, असार २४, २०८३ | १५:२९:०७ बजे

 

काठमाडौं : आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पूँजी बजारलाई अपेक्षित राहत दिन नसकेको निष्कर्षमा लगानीकर्ता पुगेपछि बुधबार शेयर बजारमा तीव्र बिक्री दबाब देखिएको छ। त्यसको प्रभावस्वरूप नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा झरेको छ।

मंगलबार सार्वजनिक भएको मौद्रिक नीतिमा लगानीकर्ताले अपेक्षा गरेका लचिलो व्यवस्था तथा बजारलाई प्रत्यक्ष टेवा पुग्ने नीति नसमेटिएको धारणा बनेपछि कारोबार अवधिभर बिक्रीकर्ता हावी भएका थिए। परिणामस्वरूप अघिल्लो दिन बढेको बजार बुधबार भने उल्लेख्य अंकले ओरालो लागेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ३.९३ अंकले घट्दा फ्लोट इन्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४२ अंकले गिरावट जनाएका छन्।

सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। ३६२ कम्पनीका ८४ लाख ६३ हजार कित्ता शेयर ७७ हजार ६२७ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बजारमा अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १३.४१ प्रतिशतले घट्दा उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। सानिगाड हाइड्रोपावरको शेयरमूल्य पनि करिब ६.५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ऋणपत्रहरू शीर्ष स्थानमा रहे। ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ को ६२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को ४३ करोड रुपैयाँभन्दा बढी तथा ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को करिब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

उपसमूहगत रूपमा हेर्दा १३ मध्ये १२ उपसमूह राताम्मे बनेका छन्। म्युचुअल फन्ड उपसमूह मात्रै सामान्य सुधार देखाउँदै हरियो रहँदा जलविद्युत उपसमूह सर्वाधिक १.७० प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य उपसमूहका सूचकहरू पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

बजार विश्लेषकहरूका अनुसार मौद्रिक नीतिपछि लगानीकर्ताले खोजेको स्पष्ट र बलियो सकारात्मक सन्देश नपाउँदा बजारमा मनोवैज्ञानिक दबाब बढेको छ। पछिल्ला दिनहरूमा लगानीकर्ता मौद्रिक नीतिले पूँजी बजारमा थप तरलता र सहजता ल्याउने अपेक्षामा रहेकामा त्यसअनुसारका व्यवस्था नआएपछि बजारले नकारात्मक प्रतिक्रिया जनाएको देखिएको छ।

प्रकाशित मिति : बुधबार, असार २४, २०८३ | १५:२९:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया