सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से १.४६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ४४ करोडमा सीमित

जलसरोकार
सोमबार, असार ०८, २०८३ | १५:४८:०३ बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सामान्य सुधार देखिएको बजार सोमबार पुनः नकारात्मक बनेको हो।

यस दिन नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घट्दा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ।

परिसूचकसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ३५३ कम्पनीका ८१ लाख ३८ हजार कित्ता शेयर ९० हजार ८६२ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारको पहिलो दिनमै दुई जलविद्युत् कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको हो। यी दुवै कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो र सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो।

त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब ७.५ प्रतिशतले बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य ५.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। बजार घटे पनि अधिकांश गिरावट हुने कम्पनीहरूको मूल्य भने ४ प्रतिशतभन्दा कमले घटेको देखिएको छ।

कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स अग्रस्थानमा रह्यो। कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को करिब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ३ उपसमूहका परिसूचक बढेका छन् भने १० उपसमूहका परिसूचक घटेका छन्। वित्त उपसमूह सर्वाधिक १.०१ प्रतिशतले बढेको छ। यता, अंकका आधारमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ५६.२१ अंकले घटेको छ।

सामान्य अंकले परिसूचक घटे पनि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि कायम रहनु र केही नयाँ सूचीकृत कम्पनीमा उच्च आकर्षण देखिनुले लगानीकर्ताको सक्रियता भने कायमै रहेको संकेत गरेको छ।

 

प्रकाशित मिति : सोमबार, असार ०८, २०८३ | १५:४८:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया