सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से १२.२६ अंकले घट्दा कारोबार रकम ४ अर्ब ४१ करोड

जलसरोकार
सोमबार, असार ०१, २०८३ | १५:३९:४७ बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको बजारले सोमबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९६ अंक, फ्लोट इण्डेक्स ०.५६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंकले घटेका छन्।

परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३५० स्टकको ५१ हजार ७०२ पटकको कारोबारबाट ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेका छन्। यद्यपि अन्य कम्पनीहरूको मूल्य वृद्धि ५ प्रतिशतभन्दा कममा सीमित रह्यो। ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले घट्दा रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को २७ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम २२ करोड ५० लाख रुपैयाँ नाघेको छ।

उपसमूहतर्फ १३ मध्ये केवल उत्पादन तथा प्रशोधन समूहको परिसूचक सामान्य वृद्धि भएको छ। बाँकी सबै उपसमूह राताम्मे बनेका छन्। अन्य उपसमूह सर्वाधिक १.८२ प्रतिशतले घटेको छ भने व्यापार र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

 

प्रकाशित मिति : सोमबार, असार ०१, २०८३ | १५:३९:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया