नेप्सेमा लगातार छैटौं दिन गिरावट, परिसूचक २४.६३ अंकले घट्दा कारोबार ३.२५ अर्ब रुपैयाँ
जलसरोकार
काठमाडौं, : साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। लगातार छैटौं कारोबार दिन बजार ओरालो लाग्दै नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक, फ्लोट इण्डेक्स १.५२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंकले घटेका छन्।
बजार परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३६५ कम्पनीका ८७ लाख ३७ हजार कित्ता शेयर ७९ हजार २८६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ पुगेको छ।
आजको कारोबारमा स्नो रिभर्स लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य ५९ रुपैयाँ २० पैसा अर्थात् १५ प्रतिशतले बढेर प्रतिकित्ता ४५४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १३ प्रतिशतभन्दा बढी तथा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब ११ प्रतिशतले वृद्धि भएको छ।
यता, टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रह्यो। बैंकको १३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब ११ करोड ५० लाख रुपैयाँ तथा याम्बालिङ्ग हाइड्रोपावरको करिब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उपसमूहतर्फ मंगलबार सबै १३ वटा समूहका परिसूचक घटेका छन्। तीमध्ये व्यापार उपसमूह सबैभन्दा धेरै १.७४ प्रतिशतले घटेको छ। वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
लगातार छैटौं दिन बजारमा देखिएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको देखिए पनि कारोबार रकममा आएको वृद्धि भने बजारमा सक्रियता कायम रहेको संकेतका रूपमा हेरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना