लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
जलसरोकार
काठमाडौं : नेपाली सेयर बजारमा गिरावटको क्रम लगातार चौथो कारोबार दिन पनि जारी रहेको छ। मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २ हजार ७०५.४५ विन्दुमा बन्द भएको छ।
यसअघि बिहीबार ८ अंक, शुक्रबार ४ अंक र सोमबार १२.२६ अंकले बजार घटेको थियो। मंगलबार बजार खुल्दा नेप्से हरियो देखिए पनि त्यो उत्साह लामो समय टिक्न सकेन। कारोबार सुरु भएको पाँच मिनेटमै बजार रातो बनेको थियो। दिउँसो १२ः५३ बजे नेप्से दिनकै न्यूनतम २ हजार ७०१ विन्दुसम्म झरेको थियो।
यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ।
कारोबार भएका कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकहरूमा एक प्रतिशतभन्दा बढी उतारचढाव देखिएन। व्यापार समूह भने ०.३१ प्रतिशतले बढेको छ।
यता बैंकिङ समूह ०.३२ प्रतिशत, विकास बैंक ०.४२ प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.१६ प्रतिशत, हाइड्रोपावर ०.२८ प्रतिशत, लगानी ०.२० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१४ प्रतिशत, माइक्रोफाइनान्स ०.११ प्रतिशत, निर्जीवन बीमा ०.४० प्रतिशत तथा अन्य समूह ०.०६ प्रतिशतले घटेका छन्।
मंगलबार दुई नयाँ सूचीकृत कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। मूल्य वृद्धिपछि सोपान फर्मास्युटिकल्सको प्रतिकित्ता मूल्य ७०३ रुपैयाँ १० पैसा र एपोलो हाइड्रोपावरको ६०२ रुपैयाँ ४० पैसा पुगेको छ।
त्यसैगरी दोल्ती पावरको सेयर मूल्य ६.३४ प्रतिशत, बुंगल हाइड्रोको ५.५१ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको ४.२२ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा सयपत्री हाइड्रोपावर रहेको छ, जसको मूल्य ४.९० प्रतिशतले घट्यो। युनिक नेपाल लघुवित्तको ४.०३ प्रतिशत, कालिन्चोक हाइड्रोपावरको ३.५४ प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्सको ३.४१ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो। त्यसपछि सिद्धार्थ बैंक, रावा इनर्जी, रिलायन्स स्पिनिङ मिल्स र बुंगल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
लगातार चार दिनदेखि बजार ओरालो लाग्दा लगानीकर्तामा सतर्कता बढेको देखिएको छ भने कारोबार रकममा आएको गिरावटले बजारमा खरिद दबाब कमजोर रहेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना