सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से लगातार चौथो दिन घट्यो, परिसूचक ३०.६० अंकले ओरालो

जलसरोकार
सोमबार, असार २९, २०८३ | १५:२९:२० बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो दिन घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागेको बजारले सोमबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.०४ अंक, फ्लोट इण्डेक्स १.९५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंकले घटेका छन्।

परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३६८ कम्पनीका ४ करोड १७ लाख २५ हजार कित्ता शेयर ५१ हजार २९५ पटक किनबेच हुँदा कुल ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनहरूमा ऋणपत्रको कारोबार बढेसँगै कुल कारोबार रकममा वृद्धि देखिएको हो।

यस दिन कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा मूल्य वृद्धि हुने कम्पनीहरूको वृद्धि दर भने ५.५ प्रतिशतभन्दा कममा सीमित रह्यो। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.३७ प्रतिशतले बढ्दै शीर्ष स्थानमा रह्यो। यता उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ११.२८ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट हुने कम्पनी बन्यो।

कारोबार रकमका आधारमा एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ४८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसैगरी १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढी र एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०९१ को ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहतर्फ सोमबार सबै १३ वटै उपसमूहका परिसूचक घटेका छन्। व्यापार उपसमूह सर्वाधिक २.३० प्रतिशतले घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक पनि एक प्रतिशतभन्दा बढीले घटेका छन्।

लगातारको गिरावटसँगै लगानीकर्तामा सावधानी बढेको देखिएको छ भने बजारको आगामी दिशा लगानीकर्ता तथा विश्लेषकहरूको चासोको विषय बनेको छ।

प्रकाशित मिति : सोमबार, असार २९, २०८३ | १५:२९:२० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया