नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ६ अर्ब ८६ करोड नाघ्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि घटेको बजारले शुक्रबार समेत ओरालो यात्रालाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ विन्दुमा कायम भएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५८ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३६७ वटा धितोपत्रको ५३ हजार ४३२ पटक कारोबार हुँदा कुल ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको शेयर तथा ऋणपत्र किनबेच भएको छ।
बजारमा ऋणपत्रको कारोबार बढेकाले कुल कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो। कारोबार रकमका आधारमा शीर्ष १० धितोपत्रमध्ये ९ वटा ऋणपत्र परेका छन्। यस दिन करिब ९० करोड रुपैयाँ बराबरको ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ कारोबार भएको छ भने करिब ७० करोड रुपैयाँ बराबरको ८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ किनबेच भएको छ। त्यसैगरी ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को कारोबार २८ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
शेयर मूल्य वृद्धितर्फ आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वाधिक लाभ हासिल गरेको छ। कम्पनीको शेयर मूल्य १०.६६ प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी इक्विटी फण्डको इकाई मूल्य ९ प्रतिशत र कालंगा हाइड्रोपावरको शेयर मूल्य करिब ७ प्रतिशतले वृद्धि भएको छ।
यता, कारोबारमा आएका कम्पनीहरूमध्ये भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ।
उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूह सर्वाधिक १.२७ प्रतिशतले बढेको छ। यसबाहेक लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड तथा निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।
समग्रमा परिसूचक सामान्य रूपमा घटे पनि ऋणपत्रको उच्च कारोबारका कारण बजारमा लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
-
रसुवाको बाढीपछि ऊर्जा मन्त्रालय सक्रिय, उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकता
-
रसुवा बाढीको असर शेयर बजारमा, जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट
-
भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति
-
रसुवामा भीषण बाढीको असर १३ जलविद्युत् आयोजनामा, ७४८ मेगावाट क्षमता प्रभावित
-
तिब्बतबाट आएको भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३० मेगावाट बिजुली विच्छेद