सैद्धान्तिक विचलनको आरोपसहित महाधिवेशन प्रतिनिधि खगेन्द्र कर्णद्वारा कांग्रेस परित्यागको घोषणा
जलसरोकार
काठमाडौं : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य खगेन्द्र कर्णले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै पार्टीसँगको २५ वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याएको जानकारी दिएका हुन्।
फेसबुक पोस्टमा कर्णले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक दल मात्र नभई “लोकतन्त्रको विश्वविद्यालय”को संज्ञा दिएका छन् । आफू पनि सोही विद्यालयको विद्यार्थी भएको उल्लेख गर्दै उनले कांग्रेसभित्र बिताएका राजनीतिक अनुभव र संघर्षको स्मरण गरेका छन्। विगतमा नेपाली कांग्रेसमै रहेर नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र पराजित भए पनि राजनीतिक यात्रा निरन्तर अघि बढाएको उनले बताएका छन्।
कर्णले कांग्रेसका भुइँतहका कार्यकर्ताहरू देश र जनताप्रति अत्यन्त इमानदार रहेको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरेका छन् । “कार्यकर्ताले बनेको पार्टी हो नेपाली कांग्रेस,” भन्दै उनले पार्टीको ऐतिहासिक पहिचानप्रति सम्मान व्यक्त गरेका छन्।
तर पछिल्लो १० वर्षमा नेपाली कांग्रेस आफ्नो सैद्धान्तिक जगबाट विचलित हुँदै गएको उनको आरोप छ। कांग्रेसले कहिले माओवादी र कहिले एमालेसँग सहकार्य गर्दै केपी शर्मा ओलीजस्ता नेताहरूलाई प्रधानमन्त्री बनाउँदा मुलुकले अपूरणीय क्षति बेहोर्नुपरेको उनको भनाइ छ। कर्णले ओली लोकतन्त्र र संविधानप्रति विश्वस्त नरहेको दाबी गर्दै त्यसको प्रत्यक्ष असर कांग्रेसकै लोकतान्त्रिक ब्रान्डमा परेको उल्लेख गरेका छन्।
आगामी दिनमा नेपाली कांग्रेसले लोकतान्त्रिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्ने वातावरण बनाओस् भन्ने अपेक्षा पनि उनले व्यक्त गरेका छन्। साथै, आफू कांग्रेसका कुनै पनि साथीहरूमाथि तीता टिप्पणी नगर्ने स्पष्ट पार्दै, पार्टीभित्रै बसेकाहरूले कांग्रेसलाई अझ राम्रो बनाउनुपर्ने धारणा राखेका छन्।
पोस्टको अन्त्यमा कर्णले आजको मितिदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यता, महाधिवेशन प्रतिनिधि पद तथा नेपाल तरुण दलको केन्द्रीय समिति सदस्यता त्याग गरेको औपचारिक घोषणा गरेका छन्। साथै, आगामी दिनमा आफू रास्वपालाई लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी बनाउने दिशामा लाग्ने संकेत पनि दिएका छन्।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु