नेपाल टेलिकमको सेवामा सुधार, अब डाटा सकिँदा स्वतः पैसा नकाटिने
जलसरोकार
काठमाडौँ : नेपालमा दूरसञ्चार सेवा गुणस्तर सुधार्न नेपाल टेलिकममा व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनमा कम्पनीले ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार गर्ने लक्ष्य लिएको छ।
सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ अनुसार तयार पारेको १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखिएको छ। यसअन्तर्गत ग्राहक सेवा सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ।
विशेषगरी, डेटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने प्रणाली अब अन्त्य गरिएको छ। ग्राहकले डेटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना पाउनेछन् र ‘पे.एज.यू.गो’(पिएवाईजी) विकल्पमार्फत प्याकेज बिना पनि इन्टरनेट प्रयोग गर्न सक्ने सुविधा उपलब्ध हुनेछ। नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली परीक्षण चरणमा छ र केही दिनभित्र पूर्ण रूपमा लागू हुनेछ।
साथै, ग्राहक सेवा प्रक्रियालाई सरल बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू हुने तयारी छ। यसले ग्राहकले एकपटक मात्र विवरण बुझाएपछि भविष्यमा पुनः कागजात पेश गर्नु नपर्ने सुविधा दिनेछ।
डिजिटल रूपान्तरण अन्तर्गत ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र सिम स्वामित्व हस्तान्तरण जस्ता सेवाहरू अब घरमै बसेर अनलाइन माध्यमबाट उपलब्ध हुनेछन्। यसका साथै, सबै कार्यालयमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरिनेछ, जसले ग्राहकलाई सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ।
नेपाल टेलिकमले फोरजी मोबाइल नेटवर्कको गुणस्तर सुधारका लागि पनि नीतिगत सुधार र थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी गरेको छ। मन्त्रालयका अनुसार आगामी ३० दिनभित्र यी सुधार कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सामान्य गिरावटसँगै नेप्से बन्द, कारोबार रकम पनि घट्यो
-
२ दिन बिदा र विद्युत्को उच्च मागको व्यवस्थापन
-
किरण पण्डित राष्ट्र बैंकका डेपुटी गभर्नर नियुक्त
-
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट गर्ने सरकारकाे निर्णय
-
नेपाल टेलिकमको सेवामा सुधार, अब डाटा सकिँदा स्वतः पैसा नकाटिने
-
नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?