अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्दै
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न सोमबार बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ। बोलकबोल प्रक्रियाबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। रकम बाँडफाँट गर्दा सहभागी संस्थाले प्रस्ताव गरेको ब्याजदरमध्ये सबैभन्दा कम ब्याजदरबाट सुरु गर्दै क्रमशः आह्वान गरिएको कुल रकम बराबरसम्म निक्षेप स्वीकार गरिने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ माघ ८ गते भुक्तानी गरिनेछ। बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ।
वित्तीय प्रणालीमा पछिल्लो समय अधिक तरलता देखिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बजारबाट नगद खिच्ने नीति अवलम्बन गर्दै आएको छ। यसले बजारमा ब्याजदरलाई सन्तुलित राख्न तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा छ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा पटक–पटक निक्षेप संकलन गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ३३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
-
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन
-
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्दै
-
सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुग्यो, चाँदी पनि महँगियो
-
नेपालमा विद्युत् उत्पादन बढ्दा भारतबाट आयात शून्य, २२ हजार मेगावाट घण्टाभन्दा बढी निर्यात
-
आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना