सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बैंकिङ प्रणालीबाट फेरि ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, तरलताको चाप अझै उच्च

जलसरोकार
शुक्रबार, असोज २३, २०८३ | ११:२०:५७ बजे

 

काठमाडौँ : बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले ६० दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग बोलकबोल प्रस्ताव माग गरेको छ। इच्छुक इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार अपराह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत प्रस्ताव पेस गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार यस उपकरणमार्फत संकलन गरिने रकमको साँवा र त्यसमा आर्जित ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिनेछ। बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको ब्याजदरका आधारमा यस उपकरणको ब्याजदर निर्धारण हुनेछ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप बढे पनि सोही अनुपातमा कर्जाको माग र विस्तार हुन सकेको छैन। निक्षेपको तुलनामा कर्जा प्रवाह कमजोर हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ। यस्तो अवस्थामा अल्पकालीन ब्याजदर अत्यधिक घट्न सक्ने भएकाले राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।

अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरको सीमाभित्र राख्न र मौद्रिक स्थिरता कायम गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो। यसअघि पनि विभिन्न चरणमा बजारबाट ठूलो परिमाणमा रकम प्रशोचन गरिएको थियो।

राष्ट्र बैंकका अनुसार यसअघि निक्षेप संकलन उपकरणमार्फत बजारबाट खिचिएकोमध्ये करिब सात खर्ब रुपैयाँ अझै परिपक्व हुन बाँकी छ। ठूलो रकम परिपक्व हुन बाँकी रहेकै अवस्थामा पनि वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायम रहेपछि केन्द्रीय बैंकले थप ७० अर्ब रुपैयाँ खिच्न लागेको हो।

बजारमा उपलब्ध लगानीयोग्य रकमको तुलनामा कर्जाको माग कमजोर रहनु र रेमिट्यान्स आप्रवाह बढ्नुले अधिक तरलताको अवस्था लम्बिन सक्ने विश्लेषण गरिएको छ। यस्तो अवस्थामा राष्ट्र बैंकको पछिल्लो कदमले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलतालाई अल्पकालीन रूपमा व्यवस्थापन गर्न र ब्याजदरमा सन्तुलन कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, असोज २३, २०८३ | ११:२०:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया