अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब तान्दै
जलसरोकार
काठमाडौँ : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले १६० दिनका लागि उक्त रकम तान्न लागेको हो।
पछिल्लो समय कर्जाको माग अपेक्षाअनुसार नबढेपछि बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त रहेको छ। हाल संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई रकम उपलब्ध गराइरहेका छन्। यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
यसअन्तर्गत हुने बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेका ब्याजदरमध्ये सबैभन्दा कम दर प्रस्ताव गर्नेहरूलाई प्राथमिकतामा राखेर क्रमशः रकम बाँडफाँट गरिनेछ।
आज अनलाइन प्रणालीमार्फत बोलकबोल गरिनेछ र ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा ५ करोड रुपैयाँका गुणनफलमा आधारित रहनेछ।
१६० दिने यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन तथा बजार ब्याजदर स्थिर राख्न बढीमा ६ महिनासम्मको अवधिका निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले समय–समयमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नौ महिनामा करिब ३ अर्ब ९८ करोड राजस्व सङ्कलन, लक्ष्यभन्दा कम
-
गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा
-
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब तान्दै
-
सिक्टा सिँचाइ आयोजनाबाट २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
-
सुन र चाँदी दुवैको मूल्य घट्यो
-
झोलामा खोला: सरकारी कब्जामा अड्किएका जलाशय आयोजना र नेपालको विकास संकट