अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज (शुक्रबार) १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
नयाँ सरकार गठन भएको करिब दुई साता बितिसक्दा पनि बजारमा अधिक तरलता कायम रहेकाले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो।
अहिले आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहेको अवस्थामा बैंकहरूबाट कर्जा प्रवाह उल्लेख्य रूपमा बढ्न सकेको छैन। जेनजी आन्दोलनपछि पनि कर्जा विस्तारमा अपेक्षित वृद्धि नदेखिएको भन्दै बैंकहरूले निक्षेप वृद्धिमा खासै रुचि देखाएका छैनन्। परिणामस्वरूप मुद्दती निक्षेपको ब्याजदर घटाउँदै निक्षेप संकलनलाई निरुत्साहित गर्ने प्रवृत्ति बढेको छ।
हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता र बजार ब्याजदर व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता व्यवस्थापन गर्दै आएको छ।
आजको बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलन गर्दा संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरमध्ये सबैभन्दा कम दर प्रस्ताव गर्ने रकमलाई प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
निक्षेप संकलन प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत बोलकबोलका आधारमा हुनेछ र ब्याजदर पनि सोही प्रक्रियाबाट निर्धारण गरिनेछ। राष्ट्र बैंकका अनुसार आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा सहभागी हुन सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सकिनेछ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन तथा बजार ब्याजदर सन्तुलन कायम गर्न बढीमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्लो समय पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँभन्दा पुराना आयोजना पूरा गर्ने मेरो लक्ष्य : मन्त्री श्रेष्ठ
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम पनि घट्दै ८ अर्ब ९९ करोडमा सीमित
-
इन्धन संकट टार्ने उपाय: कला र नीति
-
आगामी बजेटबारे चार्टर्ड एकाउन्टेन्ट्स संघको प्रि–बजेट छलफल
-
निजी क्षेत्र राष्ट्र निर्माणको ‘आर्थिक इन्जिन’ हो : राष्ट्रपति पौडेल
-
शुक्रबार सुनकाे मूल्य तोलामा २ हजार २०० र चाँदी ८५ रुपैयाँले महँगियो