सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल राष्ट्र बैंकले ल्यायो नयाँ ५०० रुपैयाँको नोट, आजदेखि चलनचल्तीमा आउने

जलसरोकार
बुधबार, असार ०३, २०८३ | ०९:५५:४४ बजे

 

काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र विशेषतासहितको ५०० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोट २०८३ साल असार ३ गतेदेखि बजारमा पठाउने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकार तथा रंगमा रहनेछ । नोटको सिरिज नम्बर भने ‘झ’ बाट सुरु भई ‘ज्ञ’ सम्म रहनेछ । नयाँ नोटमा सुरक्षणका विभिन्न नयाँ विशेषताहरू समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ ५०० रुपैयाँको नोटको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ ।

नोटको अगाडिको भागमा सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा तलतर्फ सिरिज नम्बर उल्लेख गरिएको छ । दृष्टिविहीन व्यक्तिहरूले स्पर्शबाट नोटको दर पहिचान गर्न सकून् भनेर दुईवटा कालो थोप्ला राखिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने क्युब्रीको चित्र रहनेछ । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत समेत रहेकाे छ । 

नोटको पछाडिको भागमा पाटेबाघको चित्र र ‘NEPAL RASTRA BANK’ लेखिएको छ भने तलतर्फ ‘RUPEES FIVE HUNDRED’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले यसअघि नै २०७८ साल पुस १ गतेदेखि रुपैयाँ ५०० दरका (Series 2020) बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो । सोही क्रममा नयाँ सिरिजका नोट पनि बजारमा आउन लागेको जनाएको छ ।

राष्ट्र बैंकले नोट राष्ट्रिय सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, असार ०३, २०८३ | ०९:५५:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया