बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन अवधिका लागि ‘१ महिने निक्षेप संकलन उपकरण’ बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त उपकरणका लागि आज असोज १६ गते दिउँसो ३ बजेसम्म बोलकबोल खुला रहनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत मात्र बोलपत्र पेस गर्नुपर्नेछ ।
राष्ट्र बैंकले असोज १६ गते नै निक्षेप संकलन उपकरण निष्कासन गर्नेछ । यसको साँवा तथा ब्याज रकम भने आगामी कात्तिक १३ गते भुक्तानी गरिनेछ । उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । सहभागी संस्थाले फरक–फरक ब्याजदरमा समेत बोल पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १८ अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन् । बोल रकम १० करोड रुपैयाँले निःशेष भाग जाने हुनुपर्नेछ ।
निष्कासनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई पहिलो प्राथमिकता दिइनेछ । समान ब्याजदरमा प्राप्त बोल रकम कुल निष्कासित रकमभन्दा बढी भएमा आनुपातिक अर्थात् ‘प्रो–राटा’ आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमा लगानी गरिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने उक्त रकम गणना गर्न सकिनेछ ।
यस्तै, राष्ट्र बैंकमा राखिएको बाहेक निक्षेप संकलनबाट प्राप्त उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । तर, तोकिएको भुक्तानी मितिअघि नै उक्त निक्षेपको भुक्तानी लिन भने पाइने छैन ।
बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी रहेको तरलता खिचेर वित्तीय प्रणालीमा तरलताको सन्तुलन कायम गर्ने उद्देश्यले राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम प्रशोचन गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
-
जलविद्युत् बीमा क्षतिपूर्ति दिने माध्यम मात्र होइन, जोखिम घटाउने प्रणाली बन्नुपर्छ : रजौरिया
-
चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ
-
बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
-
प्रसारण लाइनका अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ आयोजना यसै वर्ष पूरा हुने
-
बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध