३० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गर्न ३० अर्ब रुपैयाँ बराबरको एक महिने अर्थात् ३० दिने निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त निक्षेप संकलन उपकरणका लागि असोज १२ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ। बोलकबोल अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत अनलाइन प्रणालीबाट मात्र सञ्चालन गरिनेछ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ३० दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेपका रूपमा संकलन गर्न लागेको हो।
यस उपकरणको अवधि ३० दिनको हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक ११ गते हुनेछ। यसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बोलकबोलमा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ भने समान ब्याजदर प्रस्ताव भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। बोल गरिएको रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार यस निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। संकलित रकम बैंकहरूको लगानी पोर्टफोलियोमा रहने भएकाले अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न पाइनेछ।
निक्षेप संकलन उपकरणको तोकिएको भुक्तानी मिति अगावै रकम फिर्ता हुने छैन। अर्थात् कात्तिक ११ गतेअघि यसको प्रि–म्याच्योर भुक्तानी हुने व्यवस्था छैन।
त्यस्तै, बोलपत्र स्वीकृत भएको संस्थाको खातामा निष्कासनका दिन पर्याप्त रकम नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लिट्मसले नेपाली बजारमा भित्र्यायो दुई नयाँ कन्डक्टर प्रविधि
-
हिउँदमा आफ्नै उत्पादन १,२१८ मेगावाट, भारतबाट १,१५५ मेगावाट ल्याउने प्राधिकरणको योजना
-
नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरियो
-
मुस्ताङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध
-
विद्युत्मा लगाइएको भ्याट तत्काल हटाउन उद्योग वाणिज्य महासंघको माग