काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक अमेरिकी डलरमा बिजुली निर्यात गर्ने भएको छ ।
बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेपछि अब प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय सम्झौता हुने भएको छ ।
बंगलादेश मन्त्रिपरिषदको समन्वय र सुधार समितिका सचिव मोहम्मद महमुदुर हुसेन खानले त्यहाँका सञ्चारकर्मीलाई बताएअनुसार बंगलादेशले नेपालको बिजुली प्रतियुनिट ८.१७ टाकामा खरिद गर्नेछ ।
उक्त मूल्यमध्ये प्राधिकरणले पाउने ऊर्जा मूल्य (इनर्जी प्राइस) ६.४ अमेरिकी सेन्ट (आजको विनिमय दरअनुसार ८ रुपैयाँ ५१ पैसा) हो । यसबाहेक उक्त मूल्यमा एनभीभीएनले पाउने ज्याला (ट्रेड मार्जिन) ०.०९५ भारु छ भने प्रसारण शुल्क भारतीय नियामक निकायले तोकेबमोजिम हुनेछ ।
सामान्यतया भारतीय कम्पनीले प्रसारण शुल्कबापत प्रतियुनट ४० देखि ४२ पैसा (भारु) लिंदै आएका छन् । यस्तो प्रसारण शुल्क तलमाथि भइरहन्छ ।
प्राधिकरणले भारतलाई बिजुली बेच्दा भारतीय रुपैयाँ पाउने गरेको छ । बंगलादेशसँग बिजुली निर्यात सुरु भएपछि नेपाली मुद्रा अवमूल्यन भएर डलरको भाउ वृद्धि हुँदा पनि प्राधिकरणलाई फाइदा नै हुनेछ ।
नेपाल, एनभीभीएन र बीपीडीबीबीच विद्युत् विक्री सम्झौता (पीएसए) को मस्यौदा तयार भइसकेको छ । उक्त मस्यौदामा इनर्जी प्राइस र ट्रेड मार्जिन (व्यापार शुल्क) बाहेक अन्य विषयमा सहमति भइसकेको छ । अब त्रिपक्षीय सम्झौता छिट्टै हुने नेपालका ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले बताए ।
बंगलादेशसँग आगामी दिनमा ठूलो परिमाणमा बिजुली बेच्न सके नेपालले डलर आर्जन गर्ने दह«ो स्रोत हुन सक्ने देखिएको छ ।
नेपालले ढल्केबर–मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत बंगलादेशलाई बिजुली निर्यात गर्नेछ । भारतको मुजफ्फपुरमा मिटरिङ भई त्यहाँबाट पश्चिम बंगालस्थित बरामपुर हुँदै बंगलादेशको भेरामारामा गएर जोडिनेछ ।
भेरामारा–बहरामपुर अन्तर्देशीय प्रसारण लाइनको क्षमता ‘एन माइनस वान क्राइटेरिया’ (एउटा लाइन बिग्रे अर्काेबाट चल्ने पद्धति) मा २४ सय मेगावाट रहेको नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रबल अधिकारी बताउँछन् ।
उक्त प्रसारण लाइनको क्षमता २४ सय मेगावाट भए पनि भेरामारामा ‘हाइ भोल्टेज डाइरेक्ट करेन्ट (एचभीडीसी) का दुई वटा पाँच, पाँच सय मेगावाटको ब्लक (प्रणाली) भएका कारण एक हजार मेगावाट मात्र छ । हाल बंगलादेशले यही प्रसारण लाइनमार्फत भारतबाट ९५० मेगावाट बिजुली आयात गरिरहेको छ ।
भारतबाट बिजुली आयात भएका कारण उक्त प्रसारण लाइनमा बाँकी क्षमता भनेको ५० मेगावाट मात्रै हो । सुरुमा बंगलादेशले ५० मेगावाट लिने प्रस्ताव गरे पनि प्रणालीको अनुकूलता तलमाथि पर्न सक्ने भएकाले ४० मेगावाट मात्रै तय भएको अधिकारीले बताए ।
योबाहेक नेपाल–बंगलादेश अर्काे अन्तर्देशीय प्रसारण लाइन निर्माण नगरेसम्म ४० मेगावाटभन्दा बढी बिजुली जाने अवस्था छैन । नेपाल र बंगलादेशको ऊर्जा सचिव तथा सहसचिव स्तरीय बैठक (जेडब्लूजी र जेएससी) हरुमा नेपालको अनारमणिदेखि बंगलोशको पञ्चगढ वा ठाकुर गाउँसम्म अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्नेबारे छलफल हुँदै आएका छन् । यसको विस्तृत अध्ययन भने भएको छैन ।
अधिकारीका अनुसार अनारमणिबाट पञ्चगढसम्मको हवाई दूरी ४९ किलोमिटर छ । यसमा नेपाल खण्डमा ८ किलोमिटर, भारत खण्डमा २४ र बंगलादेशमा १७ किलोमिटर पर्छ । भारतले आफ्नो २४ किलोमिटर भूभागमा अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न सहमति जनाएमा बंगलादेशमा ठूलो परिमाणमा बिजुली निर्यात गर्न सकिन्छ ।
नेपालले भारतसँग प्रस्तावित इनरुवा–पूर्णिया (भारत) ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत बंगलादशेको बारापुकारियासम्म पुर्याइ दीर्घकालीन रुपमा बिजुली निर्यात गर्न नेपाल र बंगलादेशबीच छलफल भइसकेको छ । नेपाल र भारतबीच इनरुवा–पूर्णिया ४०० केभीको अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न सहमति भई लगानीको मोडालिटीलाई अन्तिम रुप दिने क्रममा रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले हालै मात्र इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन र सवस्टेशन निर्माण सम्पन्न गरेको छ । इनरुवाबाट पूर्णिया हुँदै बंगलादेशको बारापुकारिया जोड्न सकिन्छ । बंगलादेशले बारापुकारियामा ४०० केभीको सवस्टेशन निर्माण गर्दैछ ।
नेपालका प्रधानमन्त्री र मन्त्रीहरुले भारतलाई एकपछि अर्काे गर्दै विभिन्न आकर्षक जलविद्युत् आयोजना दिंदा बंगलादेशसम्म जोड्ने प्रसारण लाइन कहिल्यै पनि माग गरेनन् । आयोजनापिच्छे एजेन्ट खडा गरी उनीहरुले आफ्नै आर्थिक स्वार्थ मात्र हेरे, तर मुलुकको स्वार्थ नहेरेको गुनासो नेपालको ऊर्जा क्षेत्रमा सर्वत्र छ ।
प्रकाशित मिति : बुधबार, जेठ ३०, २०८१ | १८:२०:४८ बजे