सुनकोसीको बेलीब्रिज मर्मतमा नेपाली सेना जुट्यो
जलसरोकार
मन्थली : रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटस्थित सुनकोसी नदीमाथिको बेलीब्रिज नेपाली सेनाले मर्मत गर्न सुरु गरेको छ । पुलमा प्रयोग गरिएका नटबोल्टहरू खुस्किएपछि जोखिम बढेको भन्दै सेनाको प्राविधिक टोली खटिएको हो ।
गत कात्तिकमा जडान गरिएको यो अस्थायी बेलीब्रिज असोज १२ गतेको बाढीले मूल पुलको आधा भाग बगाएपछि वैकल्पिक आवागमनका लागि निर्माण गरिएको थियो । सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको समन्वयमा छोटो समयमै जडान गरिएको उक्त पुल हाल यात्रु र मालवाहक सवारीको प्रमुख मार्ग बनेको छ ।
यात्रायातको चाप दिनानुदिन बढेसँगै बेलीब्रिजमा हलचल बढेको, पाताहरू लच्किन थालेका र नटबोल्टहरू खुस्किएर संरचना खुकुलो हुन थालेको पाइएको छ । अधिकतम १५ टन तौलका सवारीमात्र सञ्चालन गर्न सकिने भनिए पनि त्यसभन्दा भारी सवारी साधनसमेत नियमितरूपमा सञ्चालन भइरहेकाले पुलको संरचनामाथि थप दबाब परेको छ ।
पुलको मर्मतका लागि महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको प्राविधिक टोली बिहीबारदेखि खटिएको हो । मर्मत कार्यले पुलको स्थायित्वमा सुधार ल्याउने र यात्रु तथा सवारी सुरक्षामा सहजता दिने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार मर्मत कार्य दुई दिनभित्र सम्पन्न गरिनेछ ।
स्थानीय तह, प्रशासन र प्राविधिक निकायको समन्वयमा बेलीब्रिजको सुरक्षा र दिगोपनामा थप ध्यान दिनुपर्ने देखिएको छ। बेलीब्रिजको विकल्पमा स्थायी संरचना निर्माणतर्फ ध्यान नदिइए भोलिका दिनमा जोखिम अझ बढ्न सक्ने स्थानीयवासीको चिन्ता छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स