वीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल-जापानबीच २ अर्ब ६० करोड रुपैयाँ अनुदान सम्झौता
जलसरोकार
काठमाडौं : वीपी राजमार्गको बाढी प्रभावित भाग पुनर्निर्माण र मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित समारोहमा हस्ताक्षर गरिएको हो।
महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको वीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको नेपालकै एक महत्वपूर्ण राजमार्ग हो। गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए।
यी क्षतिग्रस्त खण्डहरूको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको हो।
सम्झौतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरे। त्यस्तै, अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
समारोहमा बोल्दै अर्थमन्त्री खनालले जापान नेपालका लागि विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको पूर्वाधार र सामाजिक–आर्थिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। उहाँले यो अनुदान सहायता नेपाल–जापानबीचको मित्रता र सहकार्यको प्रतीक रहेको बताए।
त्यसैगरी, जापानी राजदूत माएदाले यो सहयोगले वीपी राजमार्गका क्षतिग्रस्त भाग पुनःस्थापना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने बताए।
हस्ताक्षर समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौंस्थित जापान दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा
-
सामान्य सुधारसहित नेप्से २७८२ विन्दुमा बन्द, कारोबार रकम घट्यो
-
नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण
-
मनसुनजन्य विपद् पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना २०८३ तयार हुँदै
-
नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
तामाकोशी-५ को ठेक्का टुंगियो: ५.३२ अर्बमै इलेक्ट्रो-मेकानिकल काम, आयोजना कार्यान्वयनतर्फ