काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले शर्तसहित विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) का लागि गत चैत १२ गतेसम्म Connection Agreement (जडान सम्झौता) भएका प्रवद्र्धकहरुलाई निवेदन दिन बुधबार आव्हान गरेको छ । यसअनुसार निर्वाध विद्युत् प्रवाह हुने, हुन सक्ने, प्रसारण लाइन तथा सवस्टेशनको वित्तीय व्यवस्थापन र निर्माण प्रगतिको अवस्था हेरेर मात्रै र प्राधिकरणले चाहेको बेलामा मात्र लिने (विद्युत् दिन प्रवद्र्धक सहमत भएमा) गरी प्राथमिकताका क्रम तोकिएका छन् । प्राधिकरणले बुधबार सूचना जारी गर्दै निर्वाध रुपमा विद्युत् प्रवाह हुने (सञ्चालनमा रहेका र वित्तीय व्यवस्था भई निर्माणाधीन प्रसारण लाइन तथा सवस्टेशनहरुमार्फत) आयोजनालाई पहिलो प्राथमिकतामा राखेको छ । यो वर्गमा पनि आयोजनाहरुको बिजुली वर्षायाममा सामान्यतया खेर जाँदैन । त्यसैगरी ‘एन माइनस वान’ (एउटा लाइन बन्द हुँदा अर्काे लाइन सञ्चालन हुने) आकस्मिकताको अवस्थामा सञ्चालनमा रहेका प्रसारण लाइन तथा सवस्टेशनमार्फत विद्युत् प्रवाह हुन सक्ने आयोजनाहरुलाई समेत पीपीएमा समावेश हुने गरी पहिलो प्राथमिकतामा राखेको छ । प्राधिकरणले ‘एन माइनस वान’ (N-1) आकस्मिकताको अवस्थामा भएका निर्माणाधीन प्रसारण लाइन तथा सवस्टेशनहरु मार्फत विद्युत् प्रवाह हुन सक्ने आयोजनालाई सम्झौताको शर्त हुने गरी दोस्रो प्राथमिकतामा राखेको छ । त्यसैगरी तेस्रो प्राथमिकतामा प्रस्तावित प्रसारण लाइन तथा सवस्टेशनहरुमा कनेक्सन हुने जलविद्युत् आयोजनाको लाइन तथा सवस्टेनको वित्तीय व्यवस्थापनको अवस्था साथै निर्माण प्रगतिको अवस्था हेरेर पीपीए कारबाही अघि बढाउने प्राधिकरणले भनेको छ । प्राधिकरणले सामान्य अवस्थामा ओभरलोड भएका प्रसारण लाइन तथा सवस्ेशनहरुमार्फत विद्युत् प्रवाह हुन सक्ने आयोजनाको हकमा प्राधिकरणको ‘डिस्प्याच इन्स्ट्रक्सन’ (टेक एण्ड पे) अनुसार विद्युत् खरिद गर्ने शर्त सम्झौतामा समावेश गर्न प्रवद्र्धक सहमत भएमा सोही शर्तअनुसार पीपीएको कारबाही अघि बढाउने शर्त राखेको छ । प्राधिकरणले ३८ वटा नदी प्रवाही आयोजना (कुल १८५८ मेगावाट जडित क्षमता) र १६ वटा अर्धजलाशययुक्त (कुल जडित क्षमता ३१०७ मेगावाट) गरी कुल ४९६६ मेगावाटका लागि शर्तसहित पीपीए गर्नका लागि आव्हान गरेको हो । नदी प्रवाहीतर्फ कुल २९ वटा आयोजना ‘नर्मल ओभरलोड’ मा रहेका छैनन् भने ९ वटा आयोजना ओभरलोडमा रहेका छन् । ओभरलोडमा नरहेका आयोजनाबाट उत्पादित बिजुली निर्वाध प्रवाह हुनेछ भने ओभरलोडमा रहेका आयोजनाहरुको वर्षायामको बिजुली खेर जाने सम्भावना हुनेछ । त्यसैगरी नदी प्रवाहीवालाकै ‘एन माइनस वान’ मा ओभरलोडमा नपर्ने आयोजनाको संख्या जम्मा आठ छ । बाँकी ३० वटा आयोजना ‘एन माइनस वान’ मा ओभरलोडमा पर्ने प्राधिकरणले जनाएको छ । नदी प्रवाहीका लागि आव्हान गरिएको पीपीएअन्तर्गतका जलविद्युत् आयोजनामध्ये चारवटा कोरिडरका प्रसारण लाइन तथा सवस्टेशनमा सञ्चालनमा रहेका छन् । बाँकी सबै निर्माणाधीन छन् । निर्माणाधीन प्रसारण लाइन तथा सवस्टेशनहरुमध्ये निर्माण पूरा हुने अपेक्षित मिति सन् २०२५/२६ देखि सन् २०२८/२९ सम्मका छन् । नदी प्रवाही वर्गका कुल ३८ आयोजनामध्ये १० वटामा मात्र ‘ओभरलोडिङ’ को समस्या नरहेको प्राधिकरणले जनाएको छ । ओभरलोडेडिङको समस्या नरहेका भाग्यमानी आयोजनाहरुमा लोअर अप्सुवा (५४ मेगावाट), बूढीगण्डकी (९१ मेगावाट), बडिगाड (२४ मेगावाट), छिलुङ खोला (४३ मेगावाट), तातोपानी खोला (१९ मेगावाट), इर्खुवा खोला (१५ मेगावाट), म्यार्दी (२७ मेगावाट), उपल्लो रुरुघाट (१९ मेगावाट) रहेका छन् । बाँकी अधिकांंशको वर्षायाममा ओभरलोडको समस्याबाट ग्रसित हुने प्राधिकरणले जनाएको छ । त्यसैगरी अर्धजलाशययुक्त (पीआरओआर) अन्तर्गत नर्मल ओभरलोडमा नपर्ने आयोजनाको संख्या १४ छ । कुल १६ वटा पीआरओआरमध्ये २ वटा आयोजना मात्र नर्मल ओभरलोडमा पर्ने प्राधिकरणको सूचनामा छ । त्यस्तै पीआरओआरका ११ वटा आयोजना आयोजना ‘एन माइनास वान’ मा ओभरलोडमा पर्दैनन भने पाँच वटा आयोजना ‘एन माइनस वान’ अन्तर्गत ओभरलोडमा पर्नेछन् । पीपीएका लागि आव्हान गरिएको १६ वटा पीआरओआरमध्ये ९ वटा आयोजनाका प्रसारण तथा लाइन तथा सवस्टेशन केवल ‘प्रस्तावित’ मात्र छन् । प्रस्तावित प्रसारण लाइन तथा सवस्टेशनको निर्माता सरकारी कम्पनी राष्ट्रिय प्रसारण ग्रीड कम्पनी हो । यी प्रस्तावितवालाको वित्तीय व्यवस्थापनको टुंगो भने छैन । यी प्रस्तावित प्रसारण लाइनहरु सुदूर पश्चिम कोरिडर अन्तर्गतका हुन् । १६ वटा पीआरओआरमध्ये ७ वटा आयोजनाले विद्युत् प्रवाह गर्ने प्रसारण लाइन तथा सवस्टेशन निर्मार्णाधीन छन् । देशका विभिन्न स्थानमा निर्माणाधीन प्रसारण लाइन तथा सवस्टेशनहरु प्राधिकरणले बनाइरहेको हो । पीआरओआरतर्फ ११ वटा आयोजनामा ‘ओभरलोडिङ’ अवस्था छैन । पाँचवटा आयोजनामा भने ओभरलोडिङको समस्या रहेको प्राधिकरणले जनाएको छ । ओभरलोडिङको समस्यामा पर्ने आयोजनाहरुमा स्नोफल हाइड्रोपावरको तेजो थोगाम (२८ मेगावाट), अप्पर मुदी खोला (१२ मेगावाट), लिखु खोला (३६ मेगावाट), माथिल्लो मस्र्याङ्दी २ (३२७ मेगावाट), दूधकोसी–५ (९५ मेगावाट) छन् ।
प्रकाशित मिति : बुधबार, जेठ ०१, २०८२ | १७:५९:१९ बजे