नारायणी नदीको सिग्नेचर ब्रिजको निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
जलसरोकार
चितवन : ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रिजको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री घिसिङले ठेक्का सम्झौतामा उल्लेख गरिएका माइलस्टोन समयमै हासिल गर्दै, तोकिएकै कार्यतालिकाअनुसार निर्माण सम्पन्न गर्न निर्देशन दिए। उनले यस परियोजनालाई नमुना र उदाहरणीय पूर्वाधार आयोजनाका रूपमा प्रस्तुत हुने गरी काम अघि बढाउन सम्बन्धित निकाय र निर्माण पक्षलाई आग्रह गरे।
४२० मिटर लम्बाइको उक्त सिग्नेचर ब्रिज रु. १ अर्ब ६९ करोड लागतमा निर्माण हुन लागेको हो। पुलको मुख्य संरचना निर्माण सुरु हुनुअघि आवश्यक प्रारम्भिक कामहरू हाल तीव्र गतिमा अघि बढिरहेको जानकारी दिइएको छ। परियोजनाले आगामी मनसुन सुरु हुनुअघि नै पाइल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य लिएको छ।
निर्माण कार्यतालिकाअनुसार पुल २०८४ साल जेठभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। पुलको प्रमुख विशेषताका रूपमा दुई ठूला पाइलोन कंक्रिट टावर निर्माण गरिनेछ, जसबाट स्टे–केबल प्रणालीमार्फत पुलको सडक संरचनालाई समर्थन गरिनेछ। यो प्रविधि नेपालमा सीमित संख्यामा मात्र प्रयोग भएको आधुनिक प्रविधिमध्ये एक हो।
निरीक्षणकै क्रममा मन्त्री घिसिङले नारायणी नदी तटबन्धनसम्बन्धी कामबारे पनि जानकारी लिँदै बाढी नियन्त्रण र नदी संरक्षणलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
नारायणी सिग्नेचर ब्रिज निर्माण सम्पन्न भएपछि चितवन र नवलपरासी क्षेत्रबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ भने यसले क्षेत्रीय विकास र शहरी सौन्दर्य अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु