‘मदिरा-दलाली गठबन्धन’ तोड्न सांसद श्रीराम न्यौपानेको प्रधानमन्त्रीलाई खुल्लापत्र
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने ले मदिरा र सुर्तीजन्य पदार्थमा अत्यधिक कर लगाएर “मदिरा-दलाली गठबन्धन” तोड्न सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बुधबार सार्वजनिक खुल्लापत्रमा न्यौपानेले देशमा फैलिएको भ्रष्टाचार, कमिसनतन्त्र, दलाली र सेटिङ संस्कृतिको प्रमुख माध्यमका रूपमा मदिरा संस्कृतिले काम गरिरहेको दाबी गरेका हुन् ।
उनले दिनभर कानुन, नैतिकता र सुशासनको भाषण गर्नेहरू साँझ परेपछि होटल, रेस्टुरेन्ट र बन्द कोठाभित्र “मदिरा सत्कार” को आवरणमा नियुक्ति, सरुवा, बढुवा, ठेक्का, कमिसन र भागबन्डाको खेलमा संलग्न हुने गरेको आरोप लगाएका छन् ।
“आज प्रशासनिक र राजनीतिक वृत्तमा मदिरा संस्कृति केवल व्यक्तिगत उपभोगको विषय रहेन, यो राज्य संयन्त्रलाई विकृत बनाउने माध्यम बनेको छ,” खुल्लापत्रमा उल्लेख छ ।
उनका अनुसार प्रत्यक्ष नगद घुसभन्दा पनि “भोज”, “सेटिङ डिनर” र “मदिरा भेटघाट” का नाममा हुने अदृश्य लेनदेनले सुशासनलाई कमजोर बनाएको छ । यसले इमानदार कर्मचारी र राजनीतिज्ञ निरुत्साहित हुँदै गएको तथा बिचौलिया र दलालहरू शक्तिशाली बनेको उनको दाबी छ ।
सांसद न्यौपानेले सरकारले अब मदिराजन्य र सुर्तीजन्य पदार्थलाई केवल राजस्वको स्रोतका रूपमा नभई सामाजिक सुधार, सार्वजनिक स्वास्थ्य र सुशासनसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।
उनले मदिरा तथा सुर्तीजन्य पदार्थमा शतप्रतिशतभन्दा बढी कर लगाएर हालको मूल्यभन्दा कम्तीमा तीन गुणासम्म महँगो बनाउन प्रस्ताव गरेका छन् ।
त्यसबाट मदिरा र सुर्तीको अनावश्यक उपभोग घट्ने, भ्रष्टाचार तथा सेटिङ संस्कृतिमा नियन्त्रण आउने र राज्यको राजस्व समेत उल्लेखनीय रूपमा वृद्धि हुने उनको तर्क छ ।
“यदि पूर्ण निषेध सम्भव छैन भने अत्यधिक महँगो बनाएर नियन्त्रण गर्नु नै व्यावहारिक उपाय हो,” उनले खुल्लापत्रमा भनेका छन् ।
उनले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा कर बढाउने सरकारले समाज र प्रशासनिक संस्कृतिलाई बिगार्ने मदिरा तथा सुर्तीमाथि किन कठोर नीति लिन नसकेको भन्दै प्रश्नसमेत उठाएका छन् ।
“यदि राज्यलाई साँच्चिकै सुशासन चाहिएको हो भने मदिरा-दलाली गठबन्धन तोड्नैपर्छ,” उनले लेखेका छन् ।
सांसद न्यौपानेले आगामी बजेटमा “अंकगणित मात्र होइन, नैतिक साहस” पनि देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य