सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

जलसरोकार
बिहीबार, वैशाख १७, २०८३ | ०९:०४:३३ बजे

 

काठमाडौँ : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (वैशाख १७) देखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो।

कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँ मूल्यका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। तीमध्ये ३ लाख ४४ हजार कित्ता सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का अति प्रभावित बासिन्दालाई र बाँकी ५ लाख १६ हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ।

त्यस्तै सर्वसाधारणतर्फ छुट्याइएको हिस्सामध्ये १० प्रतिशतले हुन आउने १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ। यी शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा उपलब्ध हुनेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा वैशाख ३१ गतेसम्म र ढिलोमा जेठ १८ गतेसम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा वैशाख २३ र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन खुला रहनेछ।

कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको छ। कम्पनीका अनुसार आयोजनाबाट लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र छुट दरमा ८.९४ वर्ष रहने अनुमान गरिएको छ।

रेटिङ्गका हिसाबले केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सोलुखुम्बुस्थित शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने मेरो शेयर प्रयोग गरेर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ।

यस आईपीओले जलविद्युत क्षेत्रमा स्थानीय सहभागिता बढाउने र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : बिहीबार, वैशाख १७, २०८३ | ०९:०४:३३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया