माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ आजदेखि खुला, १४ लाख २७ हजार कित्ता शेयर बिक्रीमा
जलसरोकार
काठमाडौं : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो।
कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँ मूल्यको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ। यसैगरी, ३४ हजार ४०० कित्ता शेयर कर्मचारी तथा ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँडफाँट गरिएको छ।
अब कम्पनीले बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने म्याद छिटोमा असार ८ गतेसम्म रहनेछ भने आवश्यक परेमा असार १७ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ।
कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनामा गरिएको लगानी साधारण आधारमा ६.४० वर्ष र डिस्काउण्टेड आधारमा ८.९४ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
झिनो अंकले बढ्याे नेप्से, कारोबार रकममा भने गिरावट
-
कालीगण्डकी बाँधको छायाँमा माझी-बोटे समुदाय
-
समृद्ध नेपाल निर्माणमा जलविद्युत् मुख्य आधार : अध्यक्ष ढकाल
-
सुन प्रतितोला १२ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो
-
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ आजदेखि खुला, १४ लाख २७ हजार कित्ता शेयर बिक्रीमा
-
नेपाल राष्ट्र बैंकले ल्यायो नयाँ ५०० रुपैयाँको नोट, आजदेखि चलनचल्तीमा आउने