कोरलानाकाबाट ११ महिनामा साढे सात अर्बभन्दा बढी राजश्व, इभी आयात प्रमुख आधार
जलसरोकार
मुस्ताङ : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ। नेपाल–चीन जोड्ने उत्तरी कोरलानाकाबाट भएको आयात–निर्यात कारोबारका आधारमा उक्त राजश्व सङ्कलन भएको हो।
भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कोरलानाका हुँदै रु १३ अर्ब ८९ करोड ५२ लाख बराबरका विभिन्न मालवस्तु नेपाल भित्रिएका छन्। सोही अवधिमा रु २० करोड ५५ लाख ७४ हजार मूल्य बराबरका नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन्। उनले कोरलानाका गत वर्षको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएपछि व्यापारिक गतिविधि उल्लेखनीय रूपमा बढेको बताए ।
राजश्व सङ्कलनमा विद्युतीय सवारीसाधन (इभी) आयातको प्रमुख योगदान रहेको छ। भन्सार कार्यालयका अनुसार जेठ मसान्तसम्म कोरलानाका हुँदै दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। ती सवारीसाधनबाट मात्रै करिब रु सात अर्ब राजश्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले जानकारी दिए ।
गत वर्षसम्म लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय आवश्यकताका लागि मात्र खुला रहेको कोरला नाका अहिले वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा साउन महिनामा सबैभन्दा कम रु सात लाख ५७ हजार राजश्व सङ्कलन भएको थियो भने असोज महिनामा सबैभन्दा बढी रु दुई अर्ब ४९ करोड २५ लाख राजश्व उठेको थियो।
कोरलानाका हुँदै चीनबाट विद्युतीय सवारीसाधन, लत्ताकपडा, इलेक्ट्रोनिक सामग्री, जुत्ताचप्पल, किराना तथा कस्मेटिकजन्य वस्तु नेपाल भित्रिने गरेका छन्। त्यसैगरी नेपालबाट हस्तकला सामग्री तथा स्थानीय उत्पादन चीनतर्फ निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ।
कोरलानाकाको पूर्ण सञ्चालनसँगै नेपाल–चीन व्यापार विस्तार हुनुका साथै मुस्ताङ भन्सारको राजश्व सङ्कलनमा समेत उल्लेखनीय वृद्धि भएको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना