माण्डु हाइड्रोपावरको नाफा ४१५ प्रतिशत वृद्धि, विद्युत बिक्री आम्दानी ७९ करोड नाघ्यो
जलसरोकार
काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै विद्युत बिक्री आम्दानी, खुद नाफा तथा प्रतिशेयर आम्दानीमा उल्लेखनीय सुधार भएको जनाएको छ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड १८ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको नाफा ४१४.८० प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २० करोड ४७ लाख रुपैयाँबाट बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन २८८.२६ प्रतिशतको वृद्धि हो। कम्पनीको कुल आम्दानी पनि बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालन नाफा ६९ करोड ५ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ५३ करोड ९३ लाख रुपैयाँबाट बढेर ८५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्ति ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँबाट बढेर ५ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले ललितपुर र मकवानपुरको सीमाक्षेत्रमा रहेको २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ। २०८१ सालको असोजमा आएको बाढी तथा पहिरोबाट आयोजना प्रभावित भए पनि पुनर्निर्माण सम्पन्न गरी आयोजना पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
साथै कम्पनीले आयोजनाको क्षमता थप १० मेगावाट विस्तार गरी कुल ३२ मेगावाटका लागि विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) तथा सञ्चालन अनुमति प्राप्त गरिसकेको जनाएको छ।
नाफामा उच्च वृद्धि, आयोजनाको पुनर्सञ्चालन तथा क्षमता विस्तारसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ ५४ पैसाबाट बढेर २३ रुपैयाँ ३६ पैसा पुगेको छ। कम्पनीले १० प्रतिशत बोनस सेयर घोषणा गरेपछि लगानीकर्तामाझ कम्पनीप्रतिको आकर्षण समेत बढेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना