सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलविद्युत् तथा प्रसारण लाइनतर्फका ठूला आयोजना कछुवागतिमा, बुढीगण्डकी अझै निर्माणको प्रतीक्षामा

जलसरोकार
आइतबार, जेठ ३१, २०८३ | १५:५७:१५ बजे

 

काठमाडाैं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८२/८३ को अर्धवार्षिक प्रतिवेदनअनुसार जलविद्युत् तथा प्रसारण लाइनतर्फका ठूला आयोजना विभिन्न चरणमा रहेका छन्। केही आयोजना निर्माणको अन्तिम चरणमा पुग्दा केही आयोजनाको प्रगति अझै प्रारम्भिक अवस्थामै सीमित देखिएको छ।

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बुढीगण्डकी जलविद्युत् आयोजना र पश्चिम सेती जलविद्युत् आयोजना समावेश छन्। एक हजार २०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०६९/७० मा सुरु गरिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको आर्थिक वर्ष २०८१/८२ सम्मको भौतिक प्रगति १० प्रतिशत मात्रै पुगेको छ।

प्रतिवेदनअनुसार २०८२/८३ को पुस मसान्तसम्म आयोजनाको विस्तृत प्रतिवेदन तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन पनि सम्पन्न भएको छ। साथै रैकर जग्गाको मुआब्जा, घरगोठलगायत भौतिक संरचना, फलफूल तथा बोटबिरुवाको क्षतिपूर्ति वितरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ।

पश्चिम सेती जलविद्युत् आयोजना भने अझै निर्माण चरणमा प्रवेश गर्न सकेको छैन। उक्त आयोजना लगानी बोर्डमा सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजना २०७५ वैशाखदेखि निर्माणाधीन छ। २०८४ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको २०८२ पुस मसान्तसम्म भौतिक प्रगति ७४ प्रतिशत र वित्तीय प्रगति ७८ प्रतिशत पुगेको छ।

अरुण–३ सँग सम्बन्धित ४०० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन अवस्थामा रहेको छ। २०७६ माघमा सुरु भएको उक्त आयोजना २०८४ पुसमा सम्पन्न गर्ने लक्ष्य छ। २१७ किलोमिटर लम्बाइ रहेको प्रसारण लाइन सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा र महोत्तरी जिल्लाबाट गुज्रनेछ। आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

पूर्वी नेपालमा विद्युत् पूर्वाधार विस्तार गर्ने उद्देश्यले निर्माण भइरहेको कुशाहा–विराटनगर करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको प्रगति पनि उल्लेखनीय देखिएको छ। आर्थिक वर्ष २०७४/७५ मा सुरु गरिएको आयोजनाको २०८२ पुस मसान्तसम्म भौतिक प्रगति ७७.१ प्रतिशत र वित्तीय प्रगति ७७.५ प्रतिशत पुगेको छ। आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस्तै, तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत पुगेको छ। नेपाल विद्युत प्राधिकरणले करिब ५० करोड ५० लाख अमेरिकी डलर लागतमा निर्माण गरिरहेको आयोजनामा हाल बाँध निर्माण, हेडरेस सुरुङ, पावरहाउसमा उपकरण जडान तथा प्रसारण लाइनका टावर निर्माणको काम भइरहेको छ।

राष्ट्र बैंकको प्रतिवेदनले ऊर्जा उत्पादन तथा प्रसारण पूर्वाधार विस्तारका यी आयोजनाहरू देशको ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

 

प्रकाशित मिति : आइतबार, जेठ ३१, २०८३ | १५:५७:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया