महाशिवरात्रि आज : देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना, पशुपतिनाथमा लाखौँ भक्तजनको घुइँचो
जलसरोकार
काठमाडौँ : आराध्यदेव भगवान् शिवको महान् पर्व महाशिवरात्रि आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा मनाइने यो पर्व भगवान् शिवको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाउने परम्परा रहिआएको छ ।
धर्मशास्त्रविद्हरूका अनुसार फागुन कृष्ण चतुर्दशीको मध्यरातमा परब्रह्मले शिवरूप धारण गरेको विश्वास गरिन्छ । यस दिन विधिपूर्वक पूजा–आराधना तथा दर्शन गरे यस लोकमा सुख–शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक मान्यता छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराणलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
व्रतमध्ये सर्वोत्तम मानिने महाशिवरात्रिका दिन भक्तजनले उपवास बसी शिव मन्दिरमा पूजा–अर्चना गर्नुका साथै दूध, धतुरो र बेलपत्र चढाउने परम्परा छ । रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको आजको दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना, महादीप, अखण्डदीप, लक्ष्यबत्ती, दीपोत्सव तथा लाखौँ बेलपत्र अर्पण गर्ने कार्यक्रम रहेको छ । भगवान् शिवको दर्शनका लागि देशका विभिन्न भागका साथै छिमेकी भारतबाट आएका तीर्थयात्रीसमेतको ठूलो घुइँचो लागेको छ ।
भक्तजनको सुविधाका लागि यस वर्ष विशेष व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिएका छन् ।
पछिल्ला वर्षझैँ यस वर्ष पनि पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको छ । यस्ता पदार्थ सेवन वा बिक्री–वितरण गरेको पाइएमा कानुनी कारबाही गरिने जनाइएको छ ।
महाशिवरात्रिको अवसरमा आज बिहान २ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ । यस वर्ष करिब आठ लाखभन्दा बढी दर्शनार्थीले आजको दिन मात्र पशुपति दर्शन गर्ने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी
-
पञ्चेश्वरमा सहमतिको संकेत, नेपालले भारतसमक्ष ३०:७० लागत बाँडफाँट प्रस्ताव गर्ने
-
विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण, नयाँ दर प्रस्तावका लागि १५ दिने समिति गठन
-
रसुवागढीका नयाँ सीइओका १० प्रमुख चुनौती
-
रसुवागढी जलविद्युत् सञ्चित घाटामा, नोक्सानी बढेर ८१ करोड रुपैयाँ नाघ्यो