सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ, अनावश्यक सञ्चय नगर्न सरकारको आग्रह

जलसरोकार
बुधबार, साउन २०, २०८३ | ०९:५२:१९ बजे

 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्ला दिनमा बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।

यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण तथा वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने सुधारका कार्यक्रम पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन ग्यास उद्योगी तथा वितरकलाई निर्देशन दिएको छ।

साथै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत गतिविधि सञ्चालन गर्ने वा उपभोक्तालाई अनावश्यक सास्ती दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।

मन्त्रालयले बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेकाले हल्लाको पछि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न उपभोक्तासँग पुनः आग्रह गरेको छ।

प्रकाशित मिति : बुधबार, साउन २०, २०८३ | ०९:५२:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया