जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँः अध्यक्ष भट्ट

जलसरोकार
सोमबार, वैशाख १०, २०८१ | १७:०७:५४ बजे

 

काठमाडौँ -कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै छन् । पहिलोपटक कतारका अमिर नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि लिइएको छ ।

भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा द्विपक्षीय समझदारीसमेत हुने बताइएको छ । सरकारले कतारका अमिरको नेपाल भ्रमणका क्रममा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । कतारी अमिरको भ्रमणलाई देशभित्र र बाहिरसमेत असाध्यै महत्वका साथ लिइएको छ ।

पछिल्लो समय नेपालीको श्रम गन्तव्यका रुपमा परिचित कतारले भौतिक पूर्वाधार, सूचना प्रविधि, नागरिक उड्डयनका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिनसक्ने बताइएको छ । कतारले नेपालको ऊर्जा क्षेत्र त्यसमा पनि स्वच्छ ऊर्जामा लगानीका लागि इच्छा व्यक्त गरेको छ । त्यसलाई पनि कतारका अमिरको भ्रमणका क्रममा सरकारकोतर्फबाट विशेष आग्रह गर्नुपर्ने माग पनि उठेको छ ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट कतार नेपालको भरपर्दो मित्र भएकाले पनि अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वास गर्छन्। रासससँगको कुराकानीका क्रममा अध्यक्ष भट्टले भने, 'विगतदेखि नै नेपाललाई खुला हृदयका साथ सहयोग गर्दै आएको कतार पछिल्ला दिनमा विकास र प्रविधिको केन्द्रका रुपमा विकास भएको छ । यसबाट नेपालले लाभ लिनुपर्छ ।'

उनका अनुसार वैधानिक तवरबाट कतारमा काम गर्न गएका नेपालीको सङ्ख्या तीन लाख ६४ हजार छ । यस्तै पर्यटक र विद्यार्थी प्रवेशाज्ञामा गएका नेपालीको सङ्ख्या पनि उल्लेख्य छ । एनआरएनका तर्फबाट कतारका अमिरलाई हृदयदेखि नै स्वागत गरिने र नेपालको समृद्धिको साझेदार बन्नसमेत आग्रह गरिने जानकारी दिँदै अध्यक्ष भट्टले फिफा विश्वकपको सफलताका लागि नेपाली समुदायले खेलेको भूमिकालाई त्यहाँको सरकारले आत्मसात् गरेको बताए ।

'नेपाली नागरिकलाई कतारले रोजगारीको अवसर प्रदान गरेको छ । नेपालीले श्रम र पसिना पनि बगाएका छन् । त्यसका आधारमा कतारले नेपालका केही महत्वपूर्ण परियोजनामा लगानी गरिदेओस् भन्ने मेरो पनि अपेक्षा छ', अध्यक्ष भट्टले भने ।

यस्तै पर्यटन, शिक्षा तथा सूचना प्रविधिका क्षेत्रमा पनि कतारले मौलिक प्रगति गरेको छ । नागरिक उड्डयनका क्षेत्रमा कतार एयरलाइन्सको आफ्नै विशेष पहिचान बनाएको छ । नेपाल र कतारबीच १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कतारसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २० वर्षपछि सन् १९९८ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गरेका थिए । अमिरको उपाधि प्राप्त गरेका अल थानीको नेपाल भ्रमण आफैंमा महत्वपूर्ण र विशिष्ट भएकाले पनि यसबाट लाभ लिन सकिने अध्यक्ष भट्टको भनाइ छ ।

    

प्रकाशित मिति : सोमबार, वैशाख १०, २०८१ | १७:०७:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया