पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
जलसरोकार
लमजुङ: मध्यनेपाल नगरपालिका–१० अन्तर्गत पर्ने बिमिरे भञ्ज्याङमा बिहीबार बिहान सुक्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालका अनुसार बिहानैदेखि निरन्तर रुपमा पहिरो खसिरहेकाले तत्काल सडक खुलाउन सक्ने अवस्था छैन । “पहिरो खस्ने क्रम रोकिएको छैन,” उनले भने, “स्थिति अझै अस्थिर रहेकाले मेसिन वा जनशक्ति परिचालन गर्न जोखिमपूर्ण छ ।”
सडक अबरुद्ध भएपछि पोखरा–बेँसीसहर आवतजावत गर्ने सवारीसाधनहरू काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। वैकल्पिक मार्ग अपेक्षाकृत साँघुरो र असजिलो भएकाले सवारी सञ्चालनमा थप चुनौती देखिएको छ।
स्थानीय बासिन्दा तथा यात्रुहरू पहिरोका कारण लामो समयसम्म गन्तव्यमा पुग्न नसकेको गुनासो गर्दै वैकल्पिक मार्गमा समेत ट्राफिक व्यवस्थापनको माग गरिरहेका छन् । यता, प्रहरी र स्थानीय प्रशासनले पहिरो हटाउने प्रक्रिया जोखिम कम भएपछि मात्र सुरु गरिने जनाएको छ ।
प्रहरीले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
बिमिरे भञ्ज्याङ पहिरोको जोखिममा पर्ने संवेदनशील क्षेत्रमा पर्छ भने यसअघि पनि यहाँ बारम्बार पहिरो खस्ने गरेको थियो। विशेषगरी वर्षायाममा सो क्षेत्र सधैं उच्च जोखिममा रहने गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ