रसुवागढी र तातोपानी अवरुद्धपछि वैकल्पिक रूपमा फस्टाउँदै कोरला नाका, पहिलो त्रैमासमै ५ अर्ब भन्दा बढीको व्यापार
जलसरोकार
काठमाडौं : नेपाल–चीन व्यापारका मुख्य नाका रसुवागढी र तातोपानी पहिरोका कारण अवरुद्ध भएपछि मुस्ताङस्थित कोरला नाका वैकल्पिक व्यापारिक केन्द्रको रूपमा उदाउँदै गएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासमै यो नाकाबाट ५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार भएको छ ।
विभागका तथ्यांकअनुसार कोरला नाकाबाट ५ अर्ब २७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने ९१ लाख ३२ हजार रुपैयाँका वस्तु चीनतर्फ निर्यात भएका छन् । हाल यो नाकाबाट विशेषगरी विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा र फलफूल आयात भइरहेको छ ।
रसुवागढी र तातोपानी अवरुद्धपछि विकल्पको रूपमा सञ्चालन
गत २४ असारमा रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीले रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द भएको थियो । त्यस्तै, तातोपानी नाकासँग जोडिएको कोदारी राजमार्गमा पनि पहिरोका कारण लामो समय यातायात अवरुद्ध रहँदा व्यापारिक गतिविधि ठप्प भएका थिए ।
यी दुई मुख्य नाका अवरुद्ध भएपछि नेपाल र चीनबीच वैकल्पिक नाका रूपमा कोरला नाका सञ्चालनमा ल्याइएको हो । ३० भदौ देखि पूर्णरूपमा सञ्चालनमा आएको यस नाकाले एक महिनाभित्रै उल्लेखनीय व्यापारिक गतिविधि गर्न सफल भएको भन्सार विभागले जनाएको छ ।
कोरलामा सुविधा विस्तार
कोरला नाकामा अहिले आशिकुडा प्रणाली (ब्क्थ्ऋग्म्ब्) मार्फत भन्सार प्रक्रिया सुरु गरिएको छ । यसले आयात–निर्यातको व्यवस्थापन र अभिलेखीकरणलाई सहज बनाएको छ । साथै, नेपाल राष्ट्र बैंकले पनि मुस्ताङ भन्सार कार्यालयलाई चिनियाँ भूभाग हुँदै प्रतीतपत्र (ीऋ) मार्फत व्यापार गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरेको छ ।
अन्य नाकाहरूको अवस्थाः
तथ्यांकअनुसार पछिल्लो तीन महिनामा रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँ बराबरका वस्तु मात्र आयात भएका छन्, निर्यात भने शून्य छ । तातोपानी नाकाबाट भने निर्यात शून्य र ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
हाल चीनसँगको कुल व्यापार सन्तुलनमा ठूलो अन्तर देखिन्छ — आयाततर्फ १ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ, भने निर्याततर्फ केवल १८ करोड ६४ लाख रुपैयाँ रहेको विभागले जनाएको छ ।
वैकल्पिक व्यापारिक केन्द्रको सम्भावना
विशेषज्ञहरूका अनुसार कोरला नाका विस्तार र पूर्वाधार सुधारका साथ दीर्घकालीन रूपमा नेपालको उत्तर व्यापारका लागि महत्वपूर्ण केन्द्र बन्न सक्छ । भौगोलिक दृष्टिले यो नाका तिब्बतसँग सिधा जोडिएको र बुटवल–पोखरा मार्ग हुँदै सजिलो पहुँच भएको कारण पनि सम्भावनायुक्त मानिन्छ ।
सरकारले हाल कोरला नाकाको स्थायी पूर्वाधार निर्माण, सडक स्तरोन्नति र भन्सार भवन विस्तारका काम अगाडि बढाइरहेको छ । यसले निकट भविष्यमा नेपाल–चीन व्यापारिक आवागमनलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान
-
रसुवागढी र तातोपानी अवरुद्धपछि वैकल्पिक रूपमा फस्टाउँदै कोरला नाका, पहिलो त्रैमासमै ५ अर्ब भन्दा बढीको व्यापार
-
आज रातिदेखि भोली बिहानसम्म देशभर हिमपात र वर्षा, सतर्कता अपनाउन आग्रह
-
सुनको भाउ २ हजार रुपैयाँ घट्यो, आज तोलाको कति ?
-
पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव नेपालमा सक्रिय
-
दिनभर उतारचढावपछि अन्ततः बढ्यो सेयर बजार