सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

किमाथाङ्कासम्म विस्तार गर्न ठेक्का प्रक्रिया अघि बढाइयो, चालु आर्थिक वर्षभित्रै विद्युत् पुर्‍याउने लक्ष्य

जलसरोकार
मंगलबार, असोज २७, २०८३ | १७:०४:३२ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका-३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएका स्थानीय बासिन्दाले अब राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पाउने भएका छन् ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो ।

राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योगले लाभ लिन सक्ने प्राधिकरणले जनाएको छ । यसबाट स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिको उपलब्धता, नियमितता र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ ।

खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा तीन फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ ।

किमाथांकासम्म विद्युत् पुर्‍याउने तयारी

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांकासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । उक्त क्षेत्रमा विद्युत् पुर्‍याउन ठेक्का प्रक्रिया अगाडि बढाइएको र चालु आर्थिक वर्षभित्रै राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

हटियासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार हुनु र किमाथांकासम्मको काम अघि बढ्नुले सङ्खुवासभाको उत्तरी भेगमा विद्युत् पहुँच विस्तार गर्ने प्राधिकरणको योजनालाई थप अघि बढाएको छ ।

सङ्खुवासभाका ९५ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन

प्राधिकरणका अनुसार सङ्खुवासभाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् । बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ ।

प्राधिकरणले जिल्लाका दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ । राष्ट्रिय प्रसारण लाइनको पहुँच विस्तारले स्थानीय बासिन्दाको दैनिक जीवन, स्वास्थ्य तथा शिक्षा सेवाको सञ्चालन र आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज २७, २०८३ | १७:०४:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया