खानी खोला हाइड्रोपावर १ करोड ४५ लाख रुपैयाँ नोक्सानीमा
जलसरोकार
काठमाडौं : खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १ करोड ४५ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले १ करोड ४५ लाख ५५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको थियो। अघिल्लो वर्षको तुलनामा घाटा घटे पनि कम्पनी अझै नाफामा जान सकेको छैन।
कम्पनीको विद्युत् बिक्री आम्दानी भने बढेको छ। समीक्षा अवधिमा कम्पनीले ८ करोड ६५ लाख ७२ हजार रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ। गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ५ करोड ६० लाख ४३ हजार रुपैयाँ रहेको थियो। कम्पनीको कुल आम्दानी ८ करोड ६५ लाख ७२ हजार रुपैयाँबाट बढेर ८ करोड ६५ लाख रुपैयाँभन्दा माथि पुगेको हो।
यद्यपि प्रशासनिक खर्च, सञ्चालन घाटा तथा बैंक ब्याज खर्च उच्च रहँदा कम्पनी नाफामा जान नसकेको देखिएको छ। समीक्षा अवधिमा कम्पनीको बैंक ब्याज खर्च मात्रै ४ करोड २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, प्रशासनिक खर्च २ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको छ।
कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष १० करोड ६४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। दीर्घकालीन कर्जा ६० करोड ५० लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक १ रुपैयाँ ५६ पैसा रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ऋणात्मक १० रुपैयाँ ५७ पैसा थियो। प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ५७ पैसा कायम रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ऋणात्मक १८३.९२ गुणा रहेको छ।
कम्पनीले गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण आयोजना क्षेत्रमा क्षति पुगेकाले विद्युत उत्पादन प्रभावित भएको जनाएको छ। क्षतिग्रस्त संरचना मर्मतपछि २०८१ चैत १ गतेबाट पुनः विद्युत उत्पादन सुरु गरिएको कम्पनीले उल्लेख गरेको छ।
हाल कम्पनीको कुल सम्पत्ति १ अर्ब ४८ करोड ५९ लाख रुपैयाँ रहेको छ। कम्पनीको चालु अनुपात ८.४४ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य