सिंत्तैमा फोहोर जलाउने भट्टी बनाएर ६० मेगावाट बिजुली निकाल्ने चिनियाँ प्रस्ताव काठमाडौ महानगरले वास्ता गरेन
महानगरका १० कर्मचारीले १ कराेड खर्च गराएर ९ दिन चीन घुमे मात्र


काठमाडौं : चीन सरकारको स्वामित्वको चाइना वेस्टर्न पावर इण्डिष्ट्रियल कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिाकाका मेयर बालेन्द्र साहलाई २२ अगष्ट २०२३ मा पत्राचार गर्यो ।
पत्रमा ‘तपाईंको नेतृत्वमा, शहरी वातावरणीय प्रदूषण कम गर्ने तपाईंको प्रतिबद्धता र उन्नत समाधानहरूको अनुसन्धानमा तपाईंको बलियो रुचिले वातावरणीय दिगो विकासलाई प्रवर्द्धन गरेको हामीले सिकेका छौं’ भन्दै आफूले जिगोङमा निर्माण गरेको ‘फोहोर ऊर्जा उत्पादन परियोजना र फोहोर व्यवस्थापन प्रविधि निरीक्षण गर्न निमन्त्रणा’ गर्यो ।
निमन्त्रणा दिनुको व्याख्या पत्रमा थप भन्यो, ‘हालैका वर्षहरूमा, जिगोङमा अवस्थित चाइना वेस्टर्न पावर इन्डस्ट्रियल कम्पनी लिमिटेडले घरेलु फोहोरको प्रयोगमा उल्लेखनीय प्रगति गरेको छ, अत्याधुनिक फोहोर व्यवस्थापन प्रविधि र व्यवस्थापन मोड अपनाएको छ, जसले शहरी वातावरणमा उल्लेखनीय सुधार गरेको छ र शहरी प्रदूषण कम गरेको छ ।’
उक्त कम्पनीले ‘हामीलाई विश्वास छ कि यी सफल व्यावहारिक अनुभवहरूले तपाईं र तपाईंको टोलीलाई प्रभावकारी ऊर्जा उत्पादन हासिल गर्न घरेलु फोहोर व्यवस्थापन प्रणाली र फोहोर व्यवस्थापन रणनीतिहरूको निर्माणलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ’ भन्दै ‘हामी तपाईं र तपाईंको टोलीलाई अगस्टको अन्त्यदेखि सेप्टेम्बर २०२३ को सुरुवातसम्म हाम्रो शहरमा रहेको उन्नत फोहोर व्यवस्थापन प्रणाली र यसको विद्युत उत्पादन परियोजनाहरूको निरीक्षण गर्न जिगोङ भ्रमण गर्न हार्दिक निमन्त्रणा गर्दछौं ।’
उक्त कम्पनीको पत्राचारलाई महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यमप्रसाद बसेलले २०२३ अक्टोबर ३ मा इमेल पठाउँदै सोधे, ‘ के तपाईं हामीलाई भ्रमणको नयाँ मिति र सहभागिताको लागि व्यक्तिहरूको संख्याको बारेमा जानकारी सहितको नयाँ निमन्त्रणा पत्र पठाउन सक्नुहुन्छ ?’
कम्पनीले औपचारिक रुपमा संख्या तोकेर पत्र पठायो । महानगरपालिकाको चीनको भ्रमणमा जाने टोलीको नाम, पद, पासपोर्ट नम्बरसहितको सूची पठायो ।

चीन भ्रमण गएका काठमाडौैं महानगरपालिकाका वडाअध्यक्ष र कर्मचारीहरुको सूची
त्यसपछि महानगरले तत्कालीन मुख्य प्रशासकीय अधिकृत वसन्त अधिकारी, वडा नं. १७ का अध्यक्ष नवीन मानन्धर, वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी, वडा न.. ७ का अध्यक्ष विमलकुमार होडा, वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नं. ३ का अध्यक्ष प्रेम थपा, वडा नं. २५ का अध्यक्ष राजेश डंगोल, महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ र महानगरकी उपनिर्देशिक सरिता राईलाई मनोनीत गर्यो ।
महानगरले भमण दल तय गरेपछि चाइना वेस्टर्न पावर लिमिटेडले काठाडौंस्थित चिनियाँ दूतावासलाई निजहरुलाई भिसा दिन अनुरोध गर्दै पत्राचार गर्यो । त्यसपछि भिसा लागेपछि वेस्टर्न पावरले यात्रा कार्यक्रम (आइटेनररी) पठायो । जसमा ३ नोभेम्बर २०२३ देखि ८ नोभेरम्बर २०२३ सम्मका कार्यक्रम उल्लेख थिए ।

वेस्टर्न पावरले प्रतिनिधिमण्डललाई पाँचतारे होटेलमा राख्यो । शहर घुमायो । फोहोरलाई कसरी व्यवस्थापन गर्ने र त्यसबाट कसरी बिनाप्रदूषण ऊर्जा उत्पादन गर्ने भन्ने व्यावहारिक ज्ञान प्रदर्शन गरायो ।
भ्रमण टोलीका नेता तथा महानगरको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चीनको सम्बद्ध प्रान्तका मेयर लगायत उच्च राजनीतिक तथा प्राविधिकहरुको टोलीका सामु अभिव्यक्ति प्रकट गरे, ‘हामी यी प्राविधिक प्रगतिहरूलाई समर्थन र अँगाल्न जारी राखौं र भोलिका दिनमा अझ वातावरणमैत्री र दीगो सिर्जना गर्न सँगै काम गरौं ।’
उक्त भ्रमणको उद्देश्य चीनले आफ्नो देशमा फोहोरलाई कसरी व्यवस्थित गरी ऊर्जा उत्पादन गरिरहेको आफ्नै आँखाले देखाउनु र सोही प्रविधिबाट उपत्यकाको फोहोर महानगरको बिना लगानी उक्त कम्पनीले नुवाकोटको ककनीमा स्थायी रुपले व्यवस्थापन गर्नु थियो ।

दस सदस्यीय भ्रमण टोलीले ९ दिने चिनियाँ भ्रमण गर्यो र फोहोरलाई मोहोरमा बिना प्रदूषण कसरी रुपान्तरण गर्न सकिंदो रहेछ भन्ने पनि परख गर्यो । हुआसिया इन्भेस्टमेन्ट कम्पनी पब्लिक लिमिटेडका अध्यक्ष डेभिड यिङका अनुसार नेपाली टोलीको भ्रमण खर्च मात्र एक करोड रुपैयाँभन्दा बढी लागेको थियो ।
भ्रमण टोली फर्केपछि वेस्टर्न पावर र नेपाल हुआसिया इन्भेस्टमेन्ट कम्पनी पब्लिक लिमिटेडले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सर्वेक्षण तथा अध्ययन गर्यो । उसले उपत्यकामा ५० लाख जनसंख्या रहेको मान्दै त्यसअनुसारको प्रारम्भिक प्रतिवेदन तयार गर्यो ।
अध्ययन प्रतिवेदनअनुसार उपत्यका (बनेपासमेत) मा दैनिक ३ हजार टन फोहोर उत्पादन हुन्छ । प्रतिव्यक्ति प्रतिदिन त्यस्तो फोहोर शून्य दशमलब ६ केजी उत्पादन हुन्छ । यसका लागि देनिक ३ हजार टन फोहोर (सबै खालका, भिजेका, सुकेका) बाट ६० मेगावाटको बिजुली उत्पादन गर्न सकिने प्रतिवेदन तयार भयो ।
प्रतिवेदनअनुसार जग्गा र वित्तीय लागतबाहेक फोहोर व्यवस्थापन र विद्युत् उत्पादनका लागि ५० करोड २० लाख अमेरिकी डलरमा ‘कारखाना’ स्थापना गर्न सकिने । यो आयोजनाको निर्माण अवधि ३ वर्षको रहने वार्षिक ८ हजार घण्टा (३३३ दिन) सञ्चालन हुने प्रतिवेदनमा छ । यसबाट वार्षिक ३६ करोड २० लाख युनिट बिजुली उत्पादन हुने प्रतिवेदले उल्लेख गरेको छ ।
अमेरिका, युरोप, चीन र अन्य विकसित देशहरुले फोहोरलाई मोहोरमा बनाउने यस्तै प्रविधि अपनाएका छन् । यसबाट सबै खालका फोहोरलाई करिब ६ सय डिग्रीको तापमा भष्म गरिन्छ ।
यस प्रविधिमा फोहोर पूर्व-प्रशोधनले दहनशील, निष्क्रिय र पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरू फोहोरबाट छुट्याउँछ र तिनीहरूलाई छुट्टै प्रशोधन गर्छ । प्लास्टिकको झोला, फाइबर, रबर, काठ र खाद्य फोहोरजस्ता दहनशील सामग्रीहरू सबै भट्टीमा जलाइन्छ । गिलास, सिरेमिक, इँटा र ढुङ्गा जस्ता सामग्रीहरू ल्यान्डफिलमा जान्छन् वा निर्माण समुच्चयको रूपमा प्रयोग गरिन्छ । धातुहरू सिधै पुनः प्रयोग गरिन्छ ।
यो फोहोरलाई ककनीमा करिब २ सय रोपनी जग्गामा विस्तार हुने ‘फ्क्याक्ट्री’ मा वातावरणलाई शून्य असरमा व्यवस्थापन गरिने भनिएको थियो ।
४ वटा फोहोर ताप व्वाइलरको वाफ उत्पादन क्षमता २६८ टन प्रतिघण्टा हुन्छ, र उक्त परियोजनामा फोहोरको तापबाट ऊर्जा उत्पादनको लागि ३० मेगावाटको कन्डेन्सिङ स्टीम टर्बाइन जेनेरेटर सेटका २ सेट प्रयोग गरिन्छ । एक टर्बाइन जेनेरेटर सेटमा १३४ टन प्रतिघण्टा वाफ खुवाइन्छ, र टर्बाइन जेनेरेटर सेटको ऊर्जा उत्पादन क्षमता ३० मेगावाट हुन्छ । डिजाइन कार्य अवस्थाअन्तर्गत २ सेटको वार्षिक विद्युत् उत्पादन क्षमता ४३२ गिगावाट घण्टा (६० मेगावाट) हुन्छ ।
हुआसिया इन्भेस्टमेन्ट कम्पनी पब्लिक लिमिटेडका अध्यक्ष डेभिड यिङले आफ्नो कम्पनीले आफ्नो वित्तीय लगानी (अनुदान) र आफ्नै प्रविधिमा काठमाडौं उपत्यका र वरपरका शहरलाई प्रद्रषणरहित फोहोर व्यवस्थापनका लागि दिइएको प्रस्ताव महानगरपालिकाले वास्तै नगरेको गुनासाे गरे ।
हाल सिसडोल भरिन लागिसकेको छ भने त्यहाँ थुपारिएको फोहोरका कारण उत्पन्न प्रदूषण, गन्ध आदिले स्थानीय वासिन्दा हैरान छन् । अझ झरी र हिलोले सडक अस्तव्यस्त भएका बेला नुवाकोटको ओखरपौवा स्थित ल्याण्डफिल्ड साइटमा गाडी जान नसकेर काठमाडौंमा १५ दिन फोहोर उठ्न सकेन भने १६ टन फोहोर सडकमै मिल्काउने गरिएको छ ।
‘हामीले महानगरलाई निःशुल्क फोहोर व्यवस्थापन गरिदिन्छौं भनेर उहाँहरुलाई हाम्रो देशमा कसरी फोहोर व्यवस्थापन गर्ने गरेका छौं भनेर पनि देखाऔं,’ यिङले भने, ‘तर नेपालमा विकासप्रति कसैलाई रुचि रहेनछ ।’
भ्रमणमा गएका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले आफूहरुलाई जान्नँ भन्दा पनि चिनियाहरुले कर गरेकाले यसो गइदिउँ न त भनेर गएको बताए । ‘दुई देशका सरकारबीच सम्झौता (फोहोर व्यवस्थापन गर्ने) भयो भने हामी साक्षी बसौंला ।’
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्थानीय फोहोर संकलकले प्रत्येक घरबाट मनलाग्दी शुल्क असुल गरिरहेका छन् । फोहोर उठाएबापत वर्षेनि अर्बाैं रुपैयाँ उठ्ने गर्छ । फोहोर संकलनमा हुने आर्थिक स्वार्थका कारण महानगरपालिकाले यस्ता निशुल्क वैदेशिक सहायतावाला परियोजनाप्रति उदासीन रहेको बुझाई छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच