१४ वर्षदेखि अधुरो कमला पुल, वर्षायाममा डुङ्गामात्र सहारा


सिरहा ः कमला नदीमा २०६८ सालमा सुरु भएको पक्की पुल १४ वर्षपछि पनि अधुरो छ । तीन वर्षमै सम्पन्न गर्ने भनिएको पुल समयमै नबन्दा सिरहा र धनुषाका हजारौं बासिन्दा हरेक वर्ष वर्षायाममा ठूलो कठिनाइमा पर्दै आएका छन् । नदी पार गर्न अहिले एकमात्र सहारा डुङ्गा बनेको छ । पानी बढ्दा डुङ्गा चढ्न पनि जोखिमपूर्ण हुने भएकाले स्थानीयहरू भय र बाध्यताबीच आवतजावत गर्न विवश छन् ।
सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपातका लागि नदीपार लैजाने गर्छन् । बर्खामा नदी उफ्रँदा उनी हरेकपटक डरले डुङ्गामा चढ्छन् । “पानी बढेपछि डुङ्गा चढ्न डर लाग्छ, तर विकल्प छैन,” यादव भन्छन् । वर्षायामबाहेक अरु बेला प्रयोग हुने काठको सानो पुल यस वर्ष बाढीले बगाएको छ । अब नदीपार गर्न पैदलयात्री र यात्री दुवैले डुङ्गामात्रै प्रयोग गर्नुपर्छ । हुलाकी सडक प्रयोग गर्ने यात्रुले प्रतिमोटरसाइकल रु १०० र प्रतिव्यक्ति रु ५० तिर्नुपर्ने बाध्यता छ ।
स्थायी पुलको अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा देखिएको छ । सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई नदी पार गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्छ, जसले समय र खर्च दुवै बढाउँछ । प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा. सुनिलप्रसाद कुशवाहाका अनुसार, पारिपट्टिका धनुषावासी बिरामीका लागि सिरहा अस्पताल नजिक भए पनि पुल नभएकै कारण उनीहरूलाई जनकपुरसम्म जानुपर्ने बाध्यता हुन्छ । गम्भीर प्रकृतिका बिरामीलाई लामो बाटो हुँदै ढिला पु¥याउँदा बाटैमा मृत्यु हुने खतरा रहन्छ ।
पुल नहुँदा पैदलयात्री, विद्यार्थी, किसान, र व्यापारी सबै प्रभावित छन् । सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका भनाइमा, बाँसको फड्के, काठको अस्थायी पुल र अहिले डुङ्गामात्रै भर पर्नु परेको छ । यो क्षेत्रको आर्थिक विकास पुलको अभावले अड्किएको छ । स्थानीय व्यापारीका अनुसार पुल भएमा सिरहा र धनुषा बीचको व्यापारिक आवागमन सहज भई कृषिजन्य वस्तुको बजार विस्तार हुने थियो । अहिले किसानले उत्पादन बेच्न लामो बाटो हिँड्नुपर्छ, जसले लागत बढाउने र नाफा घटाउने गरेको छ ।
२०६८ सालमा पुल निर्माण सुरु हुँदा स्थानीयहरूले तीन वर्षभित्र आवतजावत सहज हुने आशा गरेका थिए । तर ठेक्का, बजेट, डिजाइन परिवर्तन, र प्रशासनिक ढिलाइका कारण काम वर्षौंसम्म रोकिरह्यो । सम्बन्धित निकायबाट समयमै अनुगमन र कारबाही नहुँदा पुलको काम अझै अधुरो छ । दुवै जिल्लाका बासिन्दाले तत्काल पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । उनीहरूको भनाइमा, पुल बने मात्र शिक्षा, स्वास्थ्य, व्यापार, र आपत्कालीन सेवामा सहजता आउनेछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
दिव्य ज्योति हाइड्रोपावरलाई अपी पावरले खरिद गर्ने
-
भारी वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध
-
१४ वर्षदेखि अधुरो कमला पुल, वर्षायाममा डुङ्गामात्र सहारा
-
बैतडीको दुर्गम गाउँमा विद्युत् सेवा विस्तार
-
विद्युत उत्पादन क्षमताअनुसार प्रसारण लाइन विस्तार गर्नुपर्ने मन्त्री खड्काको भनाइ
-
डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो, उपकरण जडान अन्तिम चरणमा