१४ वर्षपछि गति लिँदै कमला पुल निर्माण, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
जलसरोकार
सिराहा÷धनुषा : ठेक्का सम्झौता भएको १४ वर्ष बितिसक्दासमेत निर्माण सम्पन्न हुन नसकेको हुलाकी राजमार्गअन्तर्गतको बहुचर्चित कमला पुलको बाँकी काम हाल तीव्र रूपमा अघि बढिरहेको छ । सिराहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन उक्त पुल आगामी चैतभित्र निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकासहित काम भइरहेको जनाइएको छ ।
निर्माण व्यवसायीले नै पुलको डिजाइन तथा निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गर्दै पुल निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका थियो । उहाँले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनीसमेत दिएका थिए ।
मन्त्री घिसिङको निर्देशनअनुसार हाल नदीको बहाव रहेको स्थानमा ह्युम पाइप राखेर अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्न ठेक्का व्यवस्थापन भई काम भइरहेको छ । पुल नबन्दा स्थानीय नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । सवारीसाधन लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने र कमला नदी वारपार गर्दा जोखिमपूर्ण तथा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलका दुईवटा जग भासिँदा चारवटा स्लावमा क्षति पुगेको थियो । तीमध्ये सिराहा (पूर्व) तर्फका दुईवटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम) तर्फका दुईवटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ । भासिएको जगलाई दह्रो बनाएर अब स्लाव लिफ्टिङको काम सुरु गरिने तयारी भइरहेको छ । यसका लागि विज्ञ प्राविधिकहरूले स्थलगत निरीक्षण गरी कार्ययोजना बनाइरहेका छन् ।
पुलको पूर्वतर्फ (सिराहा) सब–स्ट्रक्चरको काम सकिएको छ । सिराहातर्फ हटाइएका दुईवटा स्लाव र भासिएको जगको स्थानमा नयाँ दुईवटा जग निर्माण गरी सब–स्ट्रक्चर पूरा भइसकेको छ । अब प्लेट गडर जडान गर्न बाँकी छ । उक्त गडर चितवनमा निर्माण भइरहेको र तयार भएपछि पुलमा ल्याएर जडान गरिने जनाइएको छ ।
ठेक्काअन्तर्गत पर्ने नदी नियन्त्रण र पहुँच सडक निर्माणको काम भने अझै सुरु हुन सकेको छैन । गत असोजमा आएको बाढीपछि कमला नदीको धार परिवर्तन भएकाले डिजाइनका विषयमा छलफल भइरहेको र डिजाइन टुंगो लागेपछि निर्माण सुरु गरिने जनाइएको छ ।
तराई–मधेशको ‘लाइफ लाइन’ मानिने हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ जेठमा २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताअनुसार पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने थियो । तर पटक–पटक म्याद थपिँदै सातौँ पटक थपिएको ठेक्काको म्याद गत असारमा सकिएको छ ।
निर्माण व्यवसायीले आगामी असारसम्मका लागि पुनः म्याद थप प्रस्ताव पेश गरेको र हाल म्याद थपको प्रक्रिया चलिरहेको छ । हालसम्म पुल निर्माणका लागि २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार