कालीगण्डकीको बहाव वर्षयताकै उच्च विन्दुमा, तटीय क्षेत्र उच्च जोखिममा
जलसरोकार
पर्वत: लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भारी वर्षाले नदीको सतह खतरनाक रूपमा बढेको हो ।
गेज रिडर कृष्णप्रसाद सुवेदीका अनुसार आज बिहान कालीगण्डकी नदीको सतह ६ मिटर ४० सेन्टिमिटरको उचाइमा पुगेको छ, जुन यस वर्षको अहिलेसम्मकै सबैभन्दा उच्च मापन हो । बिहानको समयमा बहाव ७ दशमलव ४० मिटरको विन्दुसम्म पुगेको थियो । यद्यपि वर्षा रोकिएकाले अब बहाव क्रमशः घट्न सक्ने सुवेदीले जानकारी दिए ।
नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा परेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका अन्तर्गत बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार विशेष जोखिममा परेका क्षेत्र हुन् ।
यसैबीच, कालीगण्डकी र सेती खोलाको संगमस्थलमा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ । शिला क्षेत्रका संरचना जस्तै सत्तल, तटबन्ध, ग्याबियनलगायत पूर्वाधारहरू जलमग्न भएको शिला संरक्षण अभियन्ता तिलक पराजुलीले जानकारी दिए । शिलामा सेवा गर्ने पुजारी र पण्डितहरू समेत चिन्तित छन् ।
कालीगण्डकी ’ए’ जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिए पनि जलस्रोतको चापका कारण सेतीवेणीबजार डुबानको उच्च जोखिममा परेको हो। डुबानको सम्भावनाले पर्वत र स्याङ्जा क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित छन् ।
स्थानीय व्यापारी विष्णु न्यौपानेले १६ वर्षअघिको २०६६ सालको असोज २१ गतेको डुबान सम्झँदै भने, “त्यो दिन झन्डै तीन दर्जन परिवार विस्थापित भएका थिए, अहिले पनि त्यस्तै खतरा देखिएको छ ।” उनले यसपटक शालिग्राम शिला डुबिसकेको भए पनि बजार क्षेत्रमा भने पानी नपुगेको जानकारी दिए ।
सुरक्षाका लागि स्थानीय प्रशासन, सुरक्षाकर्मी र आपतकालीन टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ । तटीय बस्तीहरूमा सचेतना र सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ