सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कालंगा हाइड्रोको आईपीओ जेठ ८ गतेदेखि, सर्वसाधारणका लागि २८.७० लाख कित्ता निष्काशन

जलसरोकार
मंगलबार, वैशाख २२, २०८३ | ०९:२३:१३ बजे

 

काठमाडौं : कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो। यसमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ। साथै १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो।

अब कम्पनीले बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २८ करोड रुपैयाँभन्दा बढी रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्षभन्दा बढी अवधि बाँकी छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ। सो आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

 

प्रकाशित मिति : मंगलबार, वैशाख २२, २०८३ | ०९:२३:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया